काठमाडौँ – बागमती प्रदेशका सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न सरकारले १२ देखि १५ लाख रुपियाँ सम्म अनुदान दिने भएको छ । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न प्रदेश सरकारले छनोट भएका विद्यालयलाई प्रति विद्यालय रु। १५ लाख, त्यसैगरी विज्ञान, विषयगत प्रयोगशाला स्थापना गर्न बढीमा रु. १२ लाख अनुदान प्रदान गर्ने भएको हो ।
शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि, २०७८’ जारी गरी यस्तो जानकारी दिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरेको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गतको सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न घोषणासँगै बागमतीका सामुदायिक माध्यमिक विद्यालयमा प्रयोगशाला स्थापना हुने भएका हुन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको चालु आवको बजेट भाषणको बुँदा न. ५८ मा ‘शैक्षिक गुणस्तर सुधार कार्यक्रम मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रविधिमैत्री शिक्षा प्रणालीको विस्तार गर्दै स्वरोजगार, उद्यमशीलता र नव अन्वेषण क्षमता अभिवृद्धिका लागि सामुदायिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला स्थापना, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना, कम्पाउण्डवाल निर्माण र नमुना विद्यालय विकास गुरुयोजना लागु भएका २० वटा सामुदायिक माध्यमिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्न रु. ३५ करोड बजेट विनियोजन गरेको छु’ भन्ने उल्लेख गरेको छ । सोही कार्यक्रमको कार्यान्वयनका लागि निर्देशनालयले कार्यविधि तयार गरेको हो ।