Matra Education आइतबार, साउन १० २०८३

दसैँको रमझमकै बिच इसीडी शिक्षक आन्दोलनमा, कहिले देख्ला सरकारले ?

दसैँको रमझमकै बिच इसीडी शिक्षक आन्दोलनमा, कहिले देख्ला सरकारले ?

  • मात्र एजुकेशन
  • आइतबार, असोज ३१ २०७८


काठमाडौँ – पर्वतको कुस्मा नगरपालिकामा रहेका विद्यालयमा कार्यरत बालविकास सहजकर्ता (इसीडी शिक्षक) , विद्यालय कर्मचारी र विद्यालय सहयोगीले आन्दोलन थालेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट घोषणा गर्ने क्रममा बढाएको पारिश्रमिक पाउनुपर्ने माग राख्दै उनीहरू आन्दोलित बनेका हुन्।

सरकारले घोषणा गरेको पारिश्रमिक चार महिना बितिसक्दा समेत पालिकाले उपलब्ध नगराएको भन्दै उनीहरूले बढेको पारिश्रमिक नपाएसम्म विद्यालय नफर्किने बताएका छन् । आफ्नो माग पुरा गराउनका लागि उनीहरू दसैँको समेत प्रवाह नगरी कुस्मास्थित नगरपालिकाको कार्यालयमा धर्नामा बसेका छन् ।

कुस्मा नगरपालिकाले दसैँ भत्तासहित रु ६ हजारका दरले तीन महिनाको तलब खातामा जम्मा गर्न बैंकमा पठाएको सूचना पाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

‘सरकारले जेठमै घोषणा गरेको पारिश्रमिक दसैँ आउँदासम्म पनि पाउने छाँटकाँट देखिएन’, बालविकास सहजकर्ता दिव्या सापकोटाले भनिन् । कुस्माका विद्यालयमा ७३ बालविकास सहजकर्ता, ६५ सहयोगी र १८ कर्मचारी छन् ।

नगरपालिकाका सबै विद्यालयमा बालविकास सहजकर्ता, आधारभूत विद्यालयमा विद्यालय सहयोगी र माध्यमिक तहमा लेखाको समेत हेर्ने गरी विद्यालय कर्मचारीको व्यवस्था सरकारले गरेको थियो ।

चाडपर्व खर्चसहित पहिलो चौमासिकको पारिश्रमिक जम्मा गर्दा नै बढेको पारिश्रमिक पाउनुपर्ने उनीहरूको माग छ । बालविकास सहयोगीको मागप्रति नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले ऐक्यबद्धता जनाएका छन् ।

सङ्गठनका जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारीले बालविकासका शिक्षक र विद्यालयका कर्मचारीमाथि अन्याय भएको बताए । नगरपालिकाले भने संघीय सरकारले बजेट वक्तव्यमा घोषणा गरेर सोहीअनुसार रकम नपठाउँदा बढेको पारिश्रमिक दिन समस्या भएको जनाएको छ ।

कुस्मा नगर शिक्षा अधिकृत विष्णु तिवारीले शिक्षिकाको माग जायज भए पनि बढेको पारिश्रमिक दिन नगरपालिकाबाट निर्णय नभएको बताए । ‘नगरपालिकालाई वार्षिक रु दुई करोड अतिरिक्त भार बढ्छ’, उनले भने। फरक ठाउँको प्रतीकात्मक तस्बिर 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड