काठमाडौँ- सरकारले तोकेबमोजिम प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब नदिएको भन्दै देशभर अहिले आन्दोलन भइरहेको छ । स्थानीय तहले तलब निकासा नगरेको भन्दै देशभरका शिक्षक र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् । सरकारले गत जेठ १५ गते घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबसम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरूले आन्दोलन चर्काएका हुन् ।
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ ।
यसरी आन्दोलन भइरहँदा केही स्थानीय तहले भने तलब थप गरेर दिँदै निर्णय कार्यान्वयन गरेका छन्। यस्ता विभिन्न निर्णयबारे मात्र एजुकेसनले तपाईँलाई अपडेट गराउँदै आइरहेको छ। त्यस्तै आज अर्को एउटा खुसीको खबर प्राप्त भएको छ।
सङ्घीय सरकारले तोकेको तलबमा थप गरेर जुम्लाको हिमा गाउँपालिकाले न्यूनतम १५ हजार पुर्याएको हो । गाउँपालिकाका अनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई नेपाल सरकारले तोकेको तलबमा थप गरी न्यूनतम १५ हजार रुपैयाँ दिइएको छ ।
यसरी सबै स्थानीय तहले निर्णय कार्यान्वयन गरिदिने हो भने साना साना बालबालिकालाई उनीहरूको भविष्यको मार्गचित्र कोर्न सिकाउने शिक्षक तथा कर्मचारीहरूले आफ्नो श्रम बापतको मूल्यका लागि लड्नुपर्ने थिएन कि ?