Matra Education आइतबार, साउन १० २०८३

निसानको शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्पन्न

निसानको शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, असोज २३ २०७८


काठमाडौँ- राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) ले दसैँ विशेष शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ। जोरपाटीको न्यु ओयसिस पार्टी प्यालेसमा शनिवार आयोजित कार्यक्रममा प्याब्सनका नवनिर्वाचित विभिन्न नगर कमिटीका पदाधिकारीलाई बधाई तथा सम्मान सहित शुभकामना आदानप्रदान गरिएको हो। निसानका केन्द्रीय अध्यक्ष ओमप्रसाद ढकालको अध्यक्षता, सांसद कृष्ण राईको प्रमुख आतिथ्यता र काठमाडौँ प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य बारे प्रस्ट पार्दै मात्र एजुकेसन सँगको विशेष कुराकानीमा कार्यक्रम सञ्चालक तथा निसानाका महासचिव सौर्य आचार्य भन्छन् , “आउँदै गरेका चाडपर्वहरूका लागि एक आपसमा शुभकामना आदानप्रदान गर्नु र यस क्षेत्रमा क्रियाशील रहेका संस्थागत विद्यालयहरू बिचको एकतालाई अझै मजबुत बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। त्यस्तै नवनिर्वाचित प्याबसन पदाधिकारीलाई बधाई दिँदै उहाँहरूलाई कुशल रूपमा जिम्मेवारी निभाउनका लागि सचेत गराउनु पनि कार्यक्रमको लक्ष्य हो।” कार्यक्रममा निसान तथा प्याब्सनका सदस्य विद्यालयहरू, शिक्षाकर्मीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना दिँदै प्याब्सन गोकर्णेश्वर नगर समितिका नवनिर्वाचित अध्यक्ष दुर्गानाथ सिवाकोटीले प्याब्सन, निसान र अन्य शैक्षिक सङ्गठनहरू जुन नाममा आए पनि शिक्षा क्षेत्र कै हित र उत्थानका लागि आउने हुँदा भोलिका दिनमा सबै सँग मिलेर सहकार्य गर्दै परिणाममुखी काम गर्नका लागि आफूहरू तयार रहेको प्रतिक्रिया दिए।

त्यस्तै प्याब्सन कागेश्वरी मनोहरा नगर समितिका नवनिर्वाचित अध्यक्ष श्रीराम दाहालले शुभकामना दिँदै प्याब्सन केन्द्रीय समितिले आफ्ना सदस्यहरूलाई नेतृत्व बाट वञ्चित गराउने भन्दा पनि नेतृत्व सिप विकास गराउँदै लैजान तिर ध्यान दिनुपर्ने बताए। एकता नै आजको आवश्यकता भएको हुँदा एक आपसमा भाइचाहरा र समझदारीको विकास गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले आफू पनि एक प्राथमिक विद्यालयको सञ्चालक भएको द्रिस्टान्त दिँदै शिक्षा क्षेत्रमा कोरोनाले पारेको असरका कारण सबैलाई पिडा रहेको दुखेसो पोखे। कम्तीमा शिक्षकहरूलाई खालि हात पठाउनुपर्ने अवस्थाको अब अन्त्य भएको भन्दै आशावादी हुन उनले सबैलाई आग्रह गरे। आफ्नो वडाभित्र सबैलाई खोप लगाइसकेको र कोही छुटेको भए अझै पनि गोकर्ण अस्पताल मार्फत नियमित सेवा सञ्चालन भइरहेकाले अनिवार्य खोप अभियानमा सहभागी हुन समेत उनले आग्रह गरे।

नेकपा एमालेको भर्खरै सम्पन्न विधान महाधिवेशनमा कविता वाचन गरेर चर्चामा आएका कवि जगन्नाथ आचार्यले वैदिक मन्त्र सहित कविता वाचन गर्दै शुभकामना दिए भने प्याब्सन काठमाडौँ महानगर अध्यक्ष ज्ञान ब श्रेष्ठले कोभिडको कारणले तोकिएको तलब समेत आफ्ना शिक्षक कर्मचारीलाई खुवाउन नसकेको अवस्था अहिले भएकाले त्यसतर्फ सोच्नुपर्ने धारणा राखे। शिक्षक, कर्मचारीको पिडामा मलहम लगाउन व्यवस्थापन हर तरिकाले तयार हुनुपर्ने उनको भनाइ थियो।

काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम राईले दसैँमा दिइने आशीर्वादको व्याख्या सहित शुभकामना दिँदै प्याबसन एक ढिक्का भएर जुरुक्क उठ्नुपर्ने विचार राखे। त्यस्तै कुनै पनि राज्यको समृद्धिका लागि पब्लिक प्राइभेट पार्टनरसिप अपरिहार्य रहेको तर्क उनको थियो।

कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण राईले आफू ढिलो आएकोमा त्यसकै बचाउ गर्दै आफ्नो मन्तव्य सुरु गरे। मन्तव्य भरि उनले शिक्षामा संस्थागत विद्यालयले खेलेको भूमिका र तिनका समस्या भन्दा बढी शिक्षामा भएको राजनीतिको चर्चा गरे। उनको मन्तव्य कम शैक्षिक र बढी राजनीतिक द्वेषले भरिएको सुनिन्थ्यो। बौद्धिक पेसामा लाग्नेले राजनीति गर्नु नहुने तर्क गर्दै उनले चाडपर्वको शुभकामना दिए।

कार्यक्रमका सभापति तथा निसानका अध्यक्ष ओम प्रसाद ढकालले विद्यालयले भोगेका केही समस्याहरूको उदाहरण दिँदै विद्यालयलाई हरेक समय दोषी मान्ने समाजमा निसान जस्ता शैक्षिक संस्थाहरूलाई जोड्ने संस्थाको आवश्यकता अझै बढी भएको औँल्याए। त्यसो भन्दै गर्दा आफ्ना अभिभावकहरूको संवेदनशीलतालाई पनि ध्यान दिनुपर्ने उनको धारणा थियो। कोरोनाको कहरले थलिएको शिक्षा क्षेत्र खुल्नुमा गोकर्णेश्वर नगरपालिकाको अग्रणी भूमिका रहेको र नगरपालिकालाई आफूहरूले दबाब दिएका कारण त्यो निर्णय गराउन बल पुगेको भन्दै उनले कार्यक्रम अन्त्य गरे।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि दसैँको शुभकामना दिँदै संस्थागत विद्यालयहरूको एकतामा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड