Matra Education आइतबार, साउन १० २०८३

शिक्षा मन्त्रालयले पायो राजनीति शास्त्रमा स्नातकोत्तर मन्त्रि, यस्तो छ राजनीतिक इतिहास

शिक्षा मन्त्रालयले पायो राजनीति शास्त्रमा स्नातकोत्तर मन्त्रि, यस्तो छ राजनीतिक इतिहास

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज २२ २०७८


काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । सत्तारुढ गठबन्धनमा सहभागी दलहरुलाई समेटेर प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

लामो समय अनिर्णीत बनेको मन्त्रिपरिषद्को बिस्तार कहिले हुन्छ र को को मन्त्री बन्छन् भन्ने कौतुहलता सबैलाई थियो। यस बिचमा थुप्रै आकलनहरू भए भने सत्तारुढ दलहरू आफ्नै अघिल्लो निर्णयमा पनि अडिग रहन सकेनन्। सरकारले कहिले पूर्णता पाउँछ र कस्ता छवि भएका नेताहरू मन्त्री बन्छन् भन्ने कौतुहलता जति थियो त्यति नै कौतुहलता शिक्षा मन्त्री को बन्छ भन्ने पनि थियो । नेकपा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय पुराना वामपन्थी नेत्री शशि श्रेष्ठले पाउने चर्चा बजारमा थियो। यस विषयमा हामीलाई श्रोतले दिएको जानकारी अनुसार मात्र एजुकेसनले पनि शिक्षा मन्त्रीको टुङ्गो लाग्यो, भोलि ४ बजे शपथ; यस्तो छ बायोडाटा  भन्ने शीर्षकमा हिजो समाचार प्रकाशित गरेको थियो। शपथको केही घण्टा अघिसम्म पनि दलहरू भित्रको सत्ताको खेल जारी रहेकाले त्यो चर्चालाई पर सार्दै माओवादीका तर्फबाट नेता देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्।

कस्तो छ उनको राजनीतिक जीवनको बायोडाटा ?
बिद्यार्थी संगठन अखिल छैठौंबाट राजनीति सुरु गरेका मन्त्री देवेन्द्र पौडेल हाल माओवादी केन्द्रको स्थायी कमिटी सदस्य हुन् ।बागलुङ नगरपालिका १२, अमलाचौर स्थायी ठेगाना भएका पौडेल २०२१ साल पुस २८ गते जन्मिएका थिए । उनको परिवारमा श्रीमती र एक छोरी छन् । राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी बिद्यार्थी राजनीतिबाट अगाडि बढेका थिए ।

अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर काम गरेका पौडेल २०५२ सालबाट माओवादीमा आवद्ध भई सशस्त्र संघर्षमा सहभागी हुँदै २०५७ सालमा केन्द्रीय सदस्य, २०६२ सालमा पोलिटब्युरो सदस्य र २०७१ सालमा माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका थिए । २०६८ सालमा उनी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा थिए ।

पार्टीको अञ्चल र विभिन्न ब्युरोमा इञ्चार्जको भूमिकामा निभाएका पौडेल २०७५ सालमा तत्कालीन नेकपाको स्थायी समिति सदस्य थिए । उनी २०७४ सालमा बागलुङ क्षेत्र नंबर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

राजनीति अघि कृषि पेशामा रहेका मन्त्री पौडेलको विशेष रचिको क्षेत्र कृषि, विकास र साहित्य हो । उनको मार्क्सवाद र नेपाली क्रान्ति, नेपाली क्रान्तिका वैचारिक आधारहरू लगायतका राजनीतिप्रधान कृति पनि प्रकाशित भएका छन् ।

विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएका पौडेल २०४२ सालदेखि २०४४ साल सम्म १८ महिना धनगढी जेलमा परेका थिए । दर्जनौं पटक गिरफ्तारीमा परेका उनी ६ महिना सदरखोरमा थुनिएका थिए । उनले पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत जीवन बिताएका थिए ।

स्नातकोत्तर तह सम्मको अध्ययन गरेका मन्त्री भएको हुनाले शिक्षा क्षेत्रलाई बुझ्दै विकासमा लाग्ने अपेक्षा गर्न सकिन्छ। यद्यपि पहिलो चोटि मन्त्री बनेकाले उनको परीक्षा हुन भने बाँकी नै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड