काठमाडौँ– सत्तारुढ गठबन्धनले लामो समयदेखि अनिर्णीत बनेको मन्त्रालय भागबन्डा टुङ्गाएको छ। बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रालयको भागबन्डा मिलेको हो।
बिहीबारको बैठकमा भएको सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। स्रोतका अनुसार शुक्रवार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ गराइने छ।
बिहीबारको सहमति अनुसार नेपाली काँग्रेसले ८ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री र १ राज्यमन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री र १ राज्यमन्त्री पाउने भएका छन्।
को बन्दैछ शिक्षामन्त्री?
यतिबेला सरकारले कहिले पूर्णता पाउँछ र कस्ता छवि भएका नेताहरू मन्त्री बन्छन् भन्ने कौतुहलता जति छ त्यति नै कौतुहलता शिक्षा मन्त्री को बन्छ भन्ने छ। लामो समयदेखि शिक्षा मन्त्रालय मन्त्रीविहिन हुँदा थुप्रै कामहरू प्रभावित बनेका छन्। खास गरी लामो समय पदाधिकारी विहीन बनेर भर्खरै पदाधिकारी पाएको शिक्षक सेवा आयोगले मन्त्री नहुँदा आफ्नो काम गर्न पाएको छैन। त्यस्तै शिक्षा क्षेत्रका अन्य थुप्रै कामहरू अलपत्र परेका छन्। यसैबिच नेकपा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय सम्हाल्न माओवादी नेतृ शशी श्रेष्ठ आउने लगभग पक्का भएको छ।
को हुन् शशी श्रेष्ठ?
नेतृ शशी श्रेष्ठ नेपालको वामपन्थी आन्दोलनमा पुरानो इतिहास बोकेकी सांसद हुन् । पारिवारिक हिसाबले पनि उनी राजनीतिमै जोडिएकी छिन् । चर्चित वाम विश्लेषक श्याम श्रेष्ठकी बहिनी रहेकी उनी माओवादी नेता लीलामणि पोखरेलकी जीवन संगिनी हुन् ।
काठमाडौँकी समानुपातिक सांसद श्रेष्ठ यसअघि राज्यमन्त्रीसम्म बनेकी थिइन् । संसदीय समितिको सभापति रहँदा पनि श्रेष्ठले राज्यमन्त्री सरहको सुविधा पाएकी थिइन् । श्रेष्ठलाई मन्त्री बनाइएपछि अब राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद खाली भएको छ ।
२०३६ सालमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन समूहबाट औपचारिक रूपमा पार्टीगत राजनीति सुरु गरेकी श्रेष्ठले २०३७ सालमा कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्यता पाएकी थिइन् । स्थायी ठेगाना कोटेश्वर, काठमाडौँ भएकी प्रस्तावित मन्त्री शशी श्रेष्ठ काभ्रेको मंगलटारमा जन्मिएकी हुन् ।
२०३८ साल तथा २०४२ सालसम्म जेल जीवन भोगेकी उनले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक भूमिगत जीवन र प्रहरी हिरासतको अनुभव भोगेकी छिन् ।
स्नातक तहसम्मको अध्ययन गरेकी श्रेष्ठले २०३४ सालदेखि विद्यार्थी राजनीतिमा सुरु गरेकी थिइन् । २०३८ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा निर्वाचित भएकी उनी २०४० सालमा नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएकी थिइन् ।
२०५५ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य, २०५९ सालमा जनमोर्चाको सचिवालय सदस्य र २०६५ सालमा माओवादी केन्द्रीय सदस्य भएकी उनी २०७१ सालमा माओवादी पोलिटब्युरो र २०७२ मा सचिवालय सदस्य भएकी थिइन् ।
२०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् । यस्तै २०७५ सालमा उनी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति भएकी थिइन् ।
माओवादी पार्टीमा उनी नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको पूर्वएकताकेन्द्र समूहबाट एकता प्रक्रिया हुँदै आएकी हुन् । पूर्वएकताकेन्द्र समूहबाटै अञ्जना बिसंखेलाई मन्त्री बनाउने चर्चा चलिरहेका बेला स्थायी कमिटीले बरिष्ठ नेतृ शशी श्रेष्ठलाई रोजेको छ । श्रेष्ठ सादगी छवि भएकी नेतृका रूपमा चिनिन्छन् ।