काठमाडौँ- निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) को गोकर्णेश्वर नगर समितिले नयाँ नेतृत्व पाएको छ । जोरपाटीको पिस बैंकेटमा बुधवार आयोजित दोस्रो नगर अधिवेशनले दुर्गानाथ सिवाकोटीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्व-सहमत चयन भएको घोषणा गर्दै सम्पन्न भएको हो।
यसअघि अध्यक्षको जिम्मेवारी सम्हालेका निवर्तमान अध्यक्ष मदन कुमार सुवेदीले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्दै सिवाकोटीलाई नेतृत्व सुम्पिएका हुन्। प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्याब्सनका बागमती प्रदेश कमिटीका सह-सचिव अनन्तराम ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। अधिवेशनबाट मेनुका घिमिरे उपाध्यक्ष चयन भएकी छिन भने सुदिप अधिकारीले सचिवको जिम्मेवारी पाएका छन्। त्यस्तै बच्चुराम चौलागाई कोषाध्यक्ष, नेत्र प्रसाद दाहाल सह-सचिव, छेवाङ छेदर भुटिया सह-कोषाध्यक्षमा चयन हुँदा पद्मा फुयाँल, देवेन्द्र बहादुर चन्द, राजाभाई धौगडा, तुलसा थापा मगर र दावा तामाङ सदस्यमा छनोट भएका छन्।
यसअघि २०७८/०६/०९ गते सम्पन्न गर्ने प्रयास गरिएको अधिवेशन राति अबेरसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि स्थगित गरिएको थियो। ६ जनाको नेतृत्वका लागि दाबेदारी परेकोमा ३ जनाले उमेद्वारी फिर्ता लिएका थिए। अन्तिम २ उमेद्वारले पनि दुर्गानाथ सिवाकोटीको नाममा सहमति जनाएपछि भने निर्विरोध नेतृत्व चयन भएको हो। आयोजकले आजको कार्यक्रमलाई बढी औपचारिक भन्दा पनि ९ गतेकै कार्यक्रमको निरन्तरता भन्दै बन्द सत्रमै सिमित राख्ने प्रयास गरेको थियो।
सबै अट्ने र सबैले गौरव गर्नसक्ने नगर प्याब्सन बनाउँछु: सिवाकोटी

नवनिर्वाचित अध्यक्ष सिवाकोटीले आफूले प्याब्सनलाई सबै अट्ने र गौरव गर्न सक्ने संस्थाका रूपमा विकास गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। आफूलाई नेतृत्वमा ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै उनले सबै सदस्यहरू प्रति उच्च सम्मान व्यक्त गर्दै प्याब्सनले जारी गरेका नीति नियम कार्यान्वयनमा गोकर्णेश्वर नगर समितिले भूमिका खेल्ने सङ्कल्प गरे। मात्र एजुकेसनलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अगाडी भने, “आज मलाई लगाइएको अबिर मालाको अपमान हुने र कमजोर बनाउने काम म बाट हुने छैन। निजी विद्यालयले गर्ने हरेक काम र कार्यक्रम विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायले महसुस गर्ने खालको बनाउनेमा हाम्रो समिति क्रियाशील हुनेछ।” सर्वनाम शिक्षालय तथा सर्वनाम कलेज जोरपाटीका प्रधानाध्यापक सिवाकोटी लामो समय शिक्षा क्षेत्रमा अनुभव बटुलिसकेका शैक्षिक व्यक्तित्व हुन्।
सही ठाउँमा उपयुक्त व्यक्ति आएको छ: श्रेष्ठ
प्याब्सन काठमाडौँ जिल्लाको नेतृत्व गरिरहेका अनुभवी शिक्षाकर्मी हरिकृष्ण श्रेष्ठले गोकर्णेश्वर नगर समितिमा सिवाकोटीको नेतृत्वमा बनेको समितिलाई उपयुक्त भएको प्रतिक्रिया दिए। कार्यक्रम पछि मात्र एजुकेसनले उठाएका प्रश्नहरूको जवाफ दिँदै भर्खरै आफ्नो नेतृत्वमा काठमाडौँका ११ ओटै नगरपालिकाको अधिवेशन गर्न सफल भएकोमा उनले सन्तुष्टि पनि व्यक्त गरे। छोटो समयमै सबै पालिकामा अधिवेशन गराउँदा चुनौतीहरू कतिको सामना गर्नुपर्यो भन्ने हाम्रो प्रश्नमा उनले केही नगरहरूमा सामान्य समस्याहरू आएको भए पनि त्यसलाई सबै मिलेर समाधान गरेको प्रतिक्रिया दिए। त्यसो त नेतृत्व गर्ने सोच बनाएका धेरै उम्मेदवार हुनुलाई आफूले समस्या भन्दा पनि क्षमता विकासका रूपमा हेर्ने उनको भनाइ छ। हाल सबै पालिकाहरूमा नयाँको जोस र पुरानाको अनुभव मिसिएको नेतृत्व बनेकाले आफू प्याब्सनले नयाँ उचाइ लिनेमा विश्वस्त रहेको उनको भनाइ छ।
हाल प्याब्सन गोकर्णेश्वर नगर समितिका सदस्य विद्यालयहरूको सङ्ख्या ६० रहेको छ।