Matra Education आइतबार, साउन १० २०८३

थुप्रै नौलो प्रयोग सहित टेक्ससको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

थुप्रै नौलो प्रयोग सहित टेक्ससको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, असोज १९ २०७८


काठमाडौँ- चाबहिल काठमाडौँमा रहेको टेक्सस इन्टरनेसनल कलेजले दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम नवीन रूपमा सम्पन्न गरेको छ। मङ्गलवार टेक्सस कलेजको सिफल ब्लकमा आयोजित कार्यक्रमले साँच्चै यो कलेज आफ्नो छुट्टै पहिचान बोकेको छ भन्ने कुरालाई प्रमाणित गर्दै सम्पन्न भएको हो। डिनर सहितको शुभकामना आदानप्रदान कार्यक्रममा कलेजमै बिएचएम अध्ययनरत विद्यार्थीले बनाएका परिकारहरूको स्वाद सँगै अतिथिहरूलाई विद्यार्थीको प्रस्तुतिले मन्त्र मुग्ध बनाइएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले टेक्सस परिवारको छोटो निमन्त्रणालाई स्वीकार गर्दै उपस्थित भएका अतिथिलाई धन्यवाद दिए। आफ्नो कलेजको छोटो परिचय सहित शुभकामना दिएका उनले छिटै हामी यो महामारीलाई जित्दै सामान्य जीवन तिर फर्कने र आउँदै गरेका चाडपर्वहरूले सम्पूर्ण नेपालीको मुहारमा खुसीको बहार ल्याउने विश्वास व्यक्त गरे।

कुनै पनि कार्यक्रममा सेलिब्रेटी बोलाइसकेपछि उनीहरूको प्रस्तुति हेर्नका लागि सबैजना आतुर हुन्छन्। तर आजको कार्यक्रममा उपस्थित कलाकारहरू रचना रिमाल, अल्मोडा राना उप्रेती, टिका प्रसाईँ, राजा राजेन्द्र पोखरेल लगायत विद्यार्थीहरूले तयार पारेका परिकारमा रमाए भने शुभकामना आदानप्रदानमा मात्रै सरिक भए। सेलिब्रेटीहरु देखिए पनि किन कुनै प्रस्तुति राखिएन भन्ने मात्र एजुकेसनको प्रश्नमा कार्यक्रम सञ्चालक तथा टेक्सस इन्टरनेसनल कलेजका इभेन्ट म्यानेजमेन्ट विभाग प्रमुख प्रवीण खड्का भन्छन्, ” हाम्रो कार्यक्रम नै त्यसरी तय भएको थियो। आज हामीले उत्पादन गरेका विद्यार्थीहरूले नै भोलिको हस्पिटालिटि इन्डस्ट्री धान्ने हुँदा उनीहरूलाई गेस्ट सर्भ गर्न सिकाउनु एउटा उद्देश्य थियो भने कलाकारहरूलाई शुभकामना आदानप्रदानमा मात्रै सहभागी गराई विद्यार्थीहरूको प्रतिभा र उनीहरूले तयार गरेका डिसहरु चखाउनु थियो। यस्ता कार्यक्रमले विद्यार्थी अझै उत्प्रेरित र मेहनती हुन्छन् भन्ने टेक्ससको विश्वास हो।”  कलाकार बाहेक कार्यक्रममा नेपाल टेलिकम, एनसेल, त्रिभुवन विश्वविद्यालय , काठमाडौँ विश्वविद्यालय, नेपाल पुलिस, नेपाल आर्मी लगायतका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।

यो बाहेक अर्को एउटा महत्त्वपूर्ण सन्देश पनि टेक्ससले आफ्नो कार्यक्रम मार्फत दिएको छ। कार्यक्रमको मध्यतिर स्टेजमा गीत गाउन उक्लिएको एउटा समूहमा टेक्ससका विद्यार्थी र शिक्षक दुवैको सहभागिता रहेको थियो। मिठो वाद्यवादनमा स्टेजमा गीत गुन्जिरहँदा स्वर दिँदै थिए कलेजका शिक्षकहरू। यसले टेक्ससका प्राध्यापकहरू वास्तवमै आफ्ना विद्यार्थीहरूलाई प्रोत्साहन र मार्गनिर्देश गर्नका लागि अब्बल छन् भन्ने प्रमाणित गरेको छ। यस्ता प्रस्तुति विद्यार्थीका लागि एउटा सुखद संयोग र अनन्त स्मृति बन्न सक्छन्।

देखियो टेक्ससको गुणस्तरको प्रतिबिम्ब
त्यसो त टेक्ससले बिएचएमको पढाइ सुरु गरेको लामो समय भएको छैन। केही हप्ता अघि मात्रै सुरु भएको पढाइको आधारमा कार्यक्रममा विद्यार्थीले बनाएका खानेकुरा कुनै प्रतिष्ठित तारे होटलको भन्दा कम थिएन। तर यसको पछाडिका मास्टर माइन्ड हुन् टेक्ससका बिएचएम प्रयोगात्मक विभागका एक्जिक्युटिभ सेफ नारायण थपलिया। आफ्नो काममा एसिया गोल्ड मेडलिस्ट थपलियाले आज विद्यार्थीले बनाएको ८ थरी स्न्याक्स, १० ओटा मेन कोर्स, पेस्ट्रि र सलादको समिश्रणको नेतृत्व गरेका थिए। मात्र एजुकेसन सँगको विशेष कुराकानीमा थपलियाले चक्कु मात्रै हातमा समाउन जानेका विद्यार्थीबाट यति ठुलो कार्यभार सम्पन्न गराउन सकेकोमा सन्तुष्टि व्यक्त गरे। यस्ता कार्यक्रमले विद्यार्थीलाई सिप विकासमा सहयोग पुर्‍याउने हुँदा रोजगारी सिर्जना र सुनिश्चित भविष्यका लागि सहयोगी हुने उनको भनाई छ। आफ्नो पहिलो ब्याचमै टेक्ससले बिएचएममा ४५ जना विद्यार्थी भर्ना गरेको छ।

कार्यक्रमको फोटो फिचर र भिडियो हाइलाइट्स केहि दिनमा मात्र एजुकेसनको युट्युब च्यानलमा हेर्न सकिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड