Matra Education आइतबार, साउन १० २०८३

स्वास्थ्य शिक्षा: तपाईँको पेट दुखाइको समस्या यसरी गर्नुहोस् घरमै समाधान

स्वास्थ्य शिक्षा: तपाईँको पेट दुखाइको समस्या यसरी गर्नुहोस् घरमै समाधान

  • मात्र एजुकेशन
  • आइतबार, असोज १७ २०७८


अस्तव्यस्त लाइफस्टाइल तथा दूषित खानपान, तनाव र भाग दौडले भरिएको जीवनका कारण तपाईँलाई अनेक प्रकारका स्वास्थ्य समस्याहरूले सताउने गर्छ । यी समस्या मध्ये पेट दुखाई पनि एक हो । पेट दुख्ने समस्या अहिलेको समयमा सामान्य बनिसकेको छ ।

तर, अहिलेको समय भनेको यस्तो समय हो । जहाँ अधिकांश मानिसहरू घरमै छन् । कोरोना महामारीका कारण घरमै भएको बेला विभिन्न परिकारहरू खाने क्रम बढेको तर, त्यो अनुसारको शारीरिक व्यायाम नगरेको कारण र गर्मीको समय भएका कारण पेट दुख्ने समस्या पनि धेरैमा देखिएको चिकित्सकहरू बताउँछन् ।

त्यसो त पेट दुखेमा बजारमा विभिन्न प्रकारका औषधिहरू पाइन्छन् । तर, बजारमा पाइने औषधिको प्रयोग भन्दा पनि पेट दुखेमा सकेसम्म घरेलु उपाय नै अपनाउनु पर्छ । किनकि कतिपय यस्ता औषधि पनि छन् जसको प्रयोगले तपाईँको पेटको समस्या निको हुनुको साटो झन् बढाउन सक्छ । त्यसैले सकेसम्म घरेलु उपाय र औषधि कै प्रयोग गर्नु उत्तम मानिन्छ ।

आयुर्वेदमा यस्ता अनेक घरेलु वस्तुहरुकोे बारेमा व्याख्या गरिएको छ जसको प्रयोगले तपाईँ घरमै बसेर आफ्नो पेट दुख्ने समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ ।

जानौँ केही घरेलु औषधिको बारेमा जसले हुन्छ तपाईँको पेट दुखाई निको: 
तुलसी
तुलसी एक यस्तो बिरुवा हो जसलाई धर्तीमा अमृत भन्ने गरिन्छ । तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरू निको हुने गर्छ । पेट दुखाईको लागि पनि तुलसी निकै नै लाभकारी मानिन्छ । मात्र १ चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र पेट बटारेको पनि निको हुन्छ । तुलसीको पातलाई काँढा बनाएर पिउनाले झाडापखाला र कब्जियत जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । तुलसीको ४ वटा पातलाई नियमित सेवन गर्नाले विभिन्न प्रकारका समस्याबाट राहत पाउन सकिन्छ ।

त्रिफला

त्रिफला अनियमित खानपान बढ्दो फास्ट फुड खाने चलनका कारण मानिसमा कब्जियतको समस्या निकै नै बढी देखिन थालेको छ । त्रिफला आयुर्वेदको अनमोल उपहार हो । त्रिफलाले कब्जियतको समस्यामा निकै नै फाइदा पुर्‍याउँछ । त्रिफला तीन जडीबुटीको मिश्रणले बन्छ । जसमा आमलकी अर्थात् एमबलिकाअफीसीनालिस, हरीतकी अर्थात् टरमिनालिया छेबुबा विभीतकी अर्थात् टरमिनालिया बेलीरिका मिसिएको हुन्छ । त्रिफलाको एक सय ग्राम चूर्ण र ६० ग्राम चीनी मिसाएर दिनमा दुई पटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत पाउन सकिन्छ ।

बेथे
अहिले जाडो मौसम चलिरहेको छ र यो मौसममा बेथेको साग सजिलै बजारमा पाउन सकिन्छ । बेथेको साग पनि पेटको समस्यामा रामवाण मानिन्छ । यसले आमाशयमा शक्ति प्रदान गर्छ र कब्जियतको समस्यामा राहत दिलाउँछ । बेथेको सागले पेट सँग सम्बन्धित समस्याबाट छुटकारा दिलाउनुका साथै शरीरलाई शक्ति पनि प्रदान गर्ने काम गर्छ र शरीरमा फुर्ती पनि रहिरहन्छ । बेथेको रस, उमालेको सागको पानी पिउनाले पनि पेट सँग सम्बन्धित सबै प्रकारका रोग, ग्यास्ट्रिक, दुखाई, कब्जियत, निको हुन्छ ।

सौंफ

सौंफको प्रयोग प्रायः जसो खाना खाइसकेपछि गर्ने गरिन्छ । खाना खाइसकेपछि मुख गन्हाउने समस्याबाट राहत पाउनका लागि सौंफ खाने गरिन्छ । तर, सौंफको फाइदाबारे जानेर तपाईँ आश्चर्यमा पर्न सक्नु हुन्छ । सौंफको सेवनले पेटको समस्यामा राहत दिलाउनुका साथै यसले हाम्रो शरीरमा अन्य फाइदा पनि पुर्‍याउँछ । सौंफलाई मसालाको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा उमालेर सेलाएर पानी पिउनु बढी फाइदाजनक हुन्छ । दिनमा तिन पटक उक्त मिश्रण पिउनाले अपच र कफको समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यति मात्र नभई पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाएर खानाले पेट दुखाई निको हुन्छ ।

(आयुर्वेद चिकित्सक डा।अमित कर्ण सँगको कुराकानीमा आधारित)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड