Matra Education आइतबार, साउन १० २०८३

नेपालमै पहिलो पटक खेलकुदको पढाइ सुरु, के छ उद्देश्य?

नेपालमै पहिलो पटक खेलकुदको पढाइ सुरु, के छ उद्देश्य?

  • मात्र एजुकेशन
  • आइतबार, असोज १७ २०७८


काठमाडौँ – एक समय थियो जब नेपाली अभिभावकहरू खेलकुदलाई पढाइको दुस्मनको रूपमा हेर्ने गर्थे। खेलकुदमा लाग्दा पढाई बिग्रने निष्कर्ष उनीहरूको थियो। अहिले परिस्थिति बदलिएको छ र खेलकुद प्रतिको दृष्टिकोणमा पनि परिवर्तन आएको छ। खेलेरै पनि उच्च स्तरीय जीवनयापन गर्न सकिन्छ, खेलकुदमा लाग्नेहरूले नाम सँगै दाम पनि कमाएका छन् भन्ने बुझे सँगै अहिले विद्यालय तहमै पनि विभिन्न खेलकुद विभाग बन्न थालेका छन्। अब भने खेलकुदकै विषयमा पढाइ समेत हुने भएको छ।

गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्दै गर्दा यो नवीन कोर्सको सुरुवात गरेको हो। नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बीएसएम) र ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (बीआईटी) विषयको पढाइ सुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरिसकेको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गरे । “नेपालको इतिहासमा पहिलो पटक विश्वविद्यालयमा यति ठुलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो”, उनले भने, “गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुन कुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।”

गण्डकी प्रदेशका मुख्य सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुरुआतमै स्नातक तहमा खेलकुद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको बताए । प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उनले सर्टिफिकेट भन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता रहेको औँल्याए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रदेशको विशिष्टतालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताए ।

हालका लागि दुई विषयमा अध्ययन सुरु गरिए पनि चाँडै नै बीफर्माको अध्यापन सुरु गरिने जानकारी दिँदै उपकुलपति प्रा.डा. नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अध्यापनमा जोडने तयारी गरिरहेको जानकारी दिए ।

विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (बीएसएम) मा १६, ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (बीआईटी) मा ३१ र बीफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड