काठमाडौँ – सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब स्थानीय तहले निकासा नगरेको भन्दै देशका विभिन्न भागमा आन्दोलन र विरोध भइरहेको छ। सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ। यस विषयमा शिक्षा मन्त्रालयले पनि चासो व्यक्त गरेको भनिए पनि ठोस निर्देशन आउन सकेको छैन ।
देशका विभिन्न भागमा भइरहेको आन्दोलन अहिले मेलम्चीमा पनि देखिएको छ। मेलम्ची नगरपालिका स्तरीय ई.सि.डी शिक्षक र विद्यालय कर्मचारीहरू आफूहरूको माग यथाशीघ्र सम्बोधन हुनुपर्ने भन्दै आन्दोलित भएका हुन् । यसअघि आइतबार नगरपालिका पुगी विद्यालय कर्मचारी सङ्गठन नेपालका जिल्ला अध्यक्ष मनोरथ दुलाल , ई.सि.डी शिक्षक र विद्यालय कर्मचारी सङ्गठन मेलम्ची नगरपालिका अध्यक्ष अप्सरा तिवारी र कर्मचारीहरूले उप प्रमुख भगवती नेपाल र शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका थिए ।
उक्त विरोध कार्यक्रममा मेलम्ची – ८ जलवाईदेवि बाल विकास केन्द्रकी ईसीडी शिक्षक देवी गिरिले पटक पटक नगरपालिकालाई जानकारी गराउँदा पनि नगरले चासो नदिएको गुनासो गरिन् । विद्यालयले पनि कार्यालय सहयोगीहरूलाई हेप्ने गरेको उनको दुखेसो छ। बिदाको दिन, शनिवार र दिनरात नभनी काम गर्दा पनि विद्यालय समिति बाट अपमानित हुनुपरेको शिक्षक तथा कर्मचारीहरूले गुनासो गरेका छन् ।
दशैअघि पारिश्रमिक आउँदा आफ्नो तलब थप भएर आउनुपर्ने शिक्षक तथा कर्मचारीको माग छ । स्थानीय सरकार आएको ४ वर्ष बितिसक्दा पनि आफ्नो समस्या जस्ताको तस्तै रहेको भन्दै माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।