काठमाडौँ- निजी शैक्षिक संस्थामा महँगो शुल्क लिएको र विद्यार्थी तथा अभिभावक पिडित बन्ने गरेको समाचार नेपाली समाजका लागि अब नौलो समाचार होइन। पछिल्लो समय कोरोना महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्र ठप्प भएर जनजीवन नराम्ररी प्रभावित बनेको छ। आफ्ना पेसा, व्यवसाय राम्रोसँग चलाउन नपाएर पिडित नेपाली जनताको पिडामा काठमाडौँको चाबहिलमा रहेको लुम्बिनी एकेडेमिक कलेजले नुन चुक छर्ने काम गरेको छ। आवरणमा जनताका छोराछोरीलाई पढाउन खुलेको कलेज देखिए पनि वास्तविकतामा भने यो कलेज जनता मारा भएको पुष्टि भएको छ।
चर्को शुल्क लिएको, विद्यार्थी भर्ना गर्दा गरिएका प्रतिबद्धता पुरा नगरिएको, एउटै तह र सङ्कायमा अध्ययन गर्ने विद्यार्थीको पनि समान शुल्क नभएको लगायतका उक्त कलेजसँग सम्बन्धित थुप्रै गुनासाहरू आएपछि “मात्र एजुकेसनको ” टोलीले विशेष खोज गर्दा विद्यार्थी ठगिएको कुरा सत्य भएको तथ्य बाहिर आएको छ। हामीलाई प्राप्त कलेजको एक भौचरका अनुसार कलेजले स्नातक तहको चारित्रिक प्रमाणपत्र जारी गर्नका लागि मात्रै विद्यार्थीसँग ३५०० रुपैयाँ लिएको देखिएको छ। यो शुल्क एउटा सामान्य चारित्रिक प्रमाणपत्रका लागि अत्यधिक महँगो हो। सामान्यतया कलेजहरूले ५००-१५०० रुपैयाँसम्म चारित्रिक प्रमाणपत्र जारी गर्छन्। लुम्बिनी कलेजले जारी गरेको उक्त चारित्रिक प्रमाणपत्र महँगो हुनुपर्ने कुनै कारण देखिँदैन। सामान्य अनि पातलो कमसल कागजमा उसले दिएको चारित्रिक प्रमाणपत्र विद्यार्थीले घर पुर्याउन पनि मुस्किल पर्ने खालको देखिन्छ। अरू कलेजले सामान्य शुल्कमा त्यही तहको चारित्रिक प्रमाणपत्र दिँदा लुम्बिनीमा किन महँगो भनेर हामीले सोध्दा त्यहाँका कर्मचारीसँग कुनै जवाफ छैन। यसबारेमा बुझ्न पटक पटक फोन गर्दा पनि क्याम्पस प्रमुख रविनचन्द्र कोइरालाले फोन उठाएनन्।
लुम्बिनी कलेजमा +२ देखि अध्ययन गर्दै स्नातक तह पुगेका एक विद्यार्थीले पछिल्लो समय अस्वाभाविक रूपमा कलेजले फि बढाएको बताए। विशेष गरी कलेज भवनको निर्माण र के एल टावरबाट कक्षा सञ्चालन गरेपछि फि बढाएको उनको भनाइ छ। पछिल्लो समय कलेजको टिम भित्रै विवाद रहेको र त्यसको असर विद्यार्थीको पढाइमा समेत देखिएको खबर प्राप्त भएको छ। विश्वस्त श्रोतले हामीलाई बताए अनुसार कलेजका लगानीकर्ता भित्रै यति बेला ठुलो द्वन्द्व रहेको र जति ढाकछोप गर्न खोज्दा पनि त्यो विस्फोट नै हुने अवस्थामा पुगिसकेको छ। त्यही कारण पनि कलेजले विद्यार्थीका समस्यालाई सुनिरहेको छैन। लुम्बिनी कलेजमा हिजोआज यी प्रश्नहरूको जवाफ दिने कोही पनि आधिकारिक व्यक्ति भेटिँदैन। त्यहाँका कर्मचारीले प्रत्येक पटक प्रिन्सिपल सर उपत्यका बाहिर हुनुहुन्छ भन्ने जवाफ दिन्छन्। हामी १० दिनको अन्तरालमा करिब ४ चोटि जाँदा प्रिन्सिपल हुनुहुन्छ भन्ने जवाफ कहिल्यै पाइएन। तर ३५०० रुपैयाँ तिरेको भोलिपल्टै क्याम्पसले उनको हस्ताक्षर भएको चारित्रिक प्रमाणपत्र विद्यार्थीको हातमा राखिदियो। यसबाट पनि कलेज व्यवस्थापन भित्रै समस्या रहेको र त्यही लुकाउने प्रयासमा लुम्बिनी व्यवस्थापन रहेको बुझ्न सकिन्छ।
३५०० लिने कलेजलाई के हुन्छ कारबाही ?
स्नातक तहमा बर्सेनि हजारौँ विद्यार्थी भर्ना गर्ने लुम्बिनी कलेजले आफ्नो अध्ययन पुरा गरेर चारित्रिक प्रमाणपत्र लिने प्रत्येक विद्यार्थीबाट यसरी मोटो रकम कुम्ल्याइरहेको छ। यसरी अत्यधिक शुल्क लिएर ठगी धन्दा चलाउने कलेजलाई के कारबाही हुन्छ भनेर हामीले पिडित विद्यार्थीको तर्फबाट सम्बन्धित निकायमा सम्पर्क गरेका थियौ। उक्त सम्पर्कपछि हामीले यस्तो गतिविधि गर्ने कलेजलाई कारबाही हुने आश्वासन पाएका छौ।
यो विषयमा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मालाई प्रश्न गर्दा उनले गल्ती गर्ने कलेज कारबाहीको भागिदार हुने बताए। उनका अनुसार यो काम सम्बन्धित विश्वविद्यालय अन्तर्गत सम्बन्धित संकायको डिन कार्यालयले गर्नुपर्छ। डिन कार्यालयले निर्धारण गरेको शुल्क बाहेक अन्य विषयमा लिइएको शुल्क विद्यार्थी भर्ना गर्दा नै उसलाई जानकारी गराइएको हुनुपर्छ। यदि त्यसो नगरी यसरी अत्यधिक शुल्क लिइएको हो भने सम्बन्धित डिन कार्यालयले गुनासो सुनुवाइ गर्ने र यदि त्यहाँबाट पनि नभए शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत अनुगमन र कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ।
हामीले यही प्रश्न त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डिन कार्यालयका सूचना अधिकारी योगेन्द्र प्रसाद दाहाललाई पनि राखेका छौ। उनले यदि एउटा प्रमाणपत्रलाई ३५०० लिएको सत्य हो भने यो शुल्क चरम महँगो भएको भन्दै कलेजलाई सचेत गराउने र नटेरे कारबाहीको प्रक्रिया अगाडी बढाउने बताए। उनका अनुसार चारित्रिक प्रमाणपत्रका लागि यति सम्म शुल्क लिन पाइने भनेर डिन कार्यालयले नतोक्ने भए पनि कलेजले आफ्नो प्रमाणपत्र छपाइको लागत मूल्यमा केही रकम मात्रै थप गरेर लिन पाउने व्यवस्था छ। अब कारबाहीको प्रक्रिया के हुन्छ भन्ने मात्र एजुकेसनको प्रश्नमा उनी अगाडी भन्छन्,” हामी एक चोटि कलेजलाई केही समयभित्रै यो गुनासो आएको बारे सचेत गराउँछौ। यदि त्यसो गर्दा पनि यस्ता क्रियाकलाप नरोकिएमा अनुगमन र कारबाहीको प्रक्रिया तुरुन्त अगाडी बढ्छ”।
ठुला ठुला विज्ञापन गर्ने, चिटिक्क परेको भवन देखाएर आदर्शको कुरा गर्ने र गुणस्तरको गफ दिँदै विद्यार्थी तानेर हरेक शीर्षकमा जनताका छोराछोरी बाट लाखौँ पैसा ठगेर मोटाउने लुम्बिनी कलेज जस्ता संस्थाहरूलाई बेलैमा नचिन्ने हो भने आम नेपाली विद्यार्थी तथा अभिभावकहरू सँग पछुताउनुको विकल्प रहने छैन।
चारित्रिक प्रमाणपत्र बाहेक अन्य शीर्षकमा पनि बढी शुल्क लिएको भन्दै थुप्रै विद्यार्थी हाम्रो सम्पर्कमा आइरहेका छन्। हामी लुम्बिनी कलेजको यो र अन्य शीर्षकका ठगी धन्दा र कारबाहीको प्रक्रिया बारे निरन्तर फलो अप गर्नेछौ।