काठमाडौँ – सुनसरीस्थित इनरुवा नगरपालिकाका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज सातौँ दिन पनि इनरुवा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
सङ्घीय सरकारले उपलब्ध गराएको ८ हजार रुपैयाँमा बाँकी ७ हजार थप गरेर न्यूनतम पारिश्रमिक १५ हजार दिनुपर्ने माग गर्दै शिक्षक र विद्यालय कर्मचारीले पालिकाको ध्यानाकर्षण गराएका हुन् । गत असार २४ गतेदेखि निरन्तर रूपमा ध्यानाकर्षण गराउँदा पनि पालिका प्रशासनले मागप्रति बेवास्ता गरेको छ ।
शिक्षक र कर्मचारी पालिका पुग्दा प्रशासनले प्रहरी परिचालन गरेर आन्दोलन दबाउन खोजेको छ । मङ्गलवार शिक्षक र कर्मचारी पालिका पुग्दा उनीहरूलाई प्रहरीले गेटबाट प्रवेश गर्न दिएन । आन्दोलन समितिकी संयोजक सोनु राना मगर भन्छिन् ‘हामी पालिका पुग्दा ४० बढी सङ्ख्यामा प्रहरीहरू थिए । प्रवेश गर्दा खोज्दा हामीलाई गेटमा नै रोके । १ घण्टा हामी बाहिर नै बस्यौँ । प्रहरीले रोकेपछि मैले मेयर राजन मेहतालाई फोन गरेँ । फोन लागेन । त्यसपछि वडा नम्बर ३ का वडाध्यक्षलाई फोन गरेँ । यहाँको अवस्थाबारे सबै भनेँ । उहाँले मेयरलाई फोन गर्नुभयो । मेयरसँग वडाध्यक्षको फोनपछि प्रहरीले हामीलाई प्रवेश गर्न दियो,’। आन्दोलनमा करिब ८२ जना इ सी डी शिक्षक अनि ३८ जना विद्यालय कर्मचारी उपस्थित थिए।
आफूहरूले मेयर, उपमेयर र ३ नं का वडाध्यक्षसँग तलब थपको विषयमा छलफल गरेको संयोजक मगरले बताइन् । शिक्षक र कर्मचारीले माग पुरा कहिले हुन्छ भनेर गरेको प्रश्नमा मेयरले ‘भोलि या पर्सी भन्न सक्दैनौँ । तर, कहिले हुन्छ सहमति गरेर दिने प्रयास गर्छौँ भन्ने जवाफ उनीहरूलाई दिएका छन्।
मेयरले शिक्षक र कर्मचारीलाई तलबको विषयमा ‘कम्परमाइज गर्नुस्’ भने पनि शिक्षक र कर्मचारी मेयरको यो भनाइ मान्न तयार छैनन् । संयोजक मगर आफूहरूलाई पालिकाले तत्काल निर्णय दिनुपर्ने बताउँछिन् । पालिकाले दिने भए तत्काल दिनुपर्ने र नदिने भए दिन सक्दैनौँ भन्नुपर्ने मगरको भनाइ छ । यदि पालिकाले तलब नदिए सङ्घीय सरकारसमक्ष पुग्ने उनीहरूको योजना छ ।