Matra Education बुधबार, भाद्र २४ २०८३

कार्यान्वयनको तहमा पढ्दै कमाउँदै कार्यक्रम, अर्थ मन्त्रालयमा छलफल सुरु

कार्यान्वयनको तहमा पढ्दै कमाउँदै कार्यक्रम, अर्थ मन्त्रालयमा छलफल सुरु

  • मात्र एजुकेशन
  • आइतबार, असोज १० २०७८


काठमाडौँ-  बजेटलाई प्रभावकारी बनाउने काममा लागिरहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि प्रयास भइरहेको जानकारी दिएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गर्दै उनले लेखेका छन्, “पढ्दै कमाउँदै कार्यक्रम। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयमा छलफल सुरु । पढ्दै कमाउँदै कार्यक्रमलाई कार्यान्वयन तहमा लैजान अर्थ र कृषि मन्त्रालयका सचिवहरू र जनज्योति मा.वि सुर्खेतका प्र.अ. नारायण सिग्देल लगायतका सरोकारवालाहरू सँग छलफल”

के हो पढ्दै कमाउँदै कार्यक्रम?

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम घोषणा गरेको छ । यसका लागि चालु आर्थिक वर्षमा सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा कार्यक्रम सुरुवात गर्ने सरकारको घोषणा छ । तत्कालीन ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयकमा उक्त कार्यक्रम समावेश गरिएको हो ।

प्रतिस्थापन बजेटमा सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक प्रदेशमा कम्तीमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने पनि जनाइएको छ । केन्द्रले गुणस्तरीय शैक्षिक सामग्री र पाठ्यक्रम समेत उत्पादन गरी विद्युतीय माध्यमद्वारा प्रदेश भरिका सार्वजनिक विद्यालयहरूमा उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

यस्तै गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी सङ्ख्या समेतका आधारमा बाल शिक्षा देखि माध्यमिक शिक्षा सम्मको नक्सांकन तयार गरी कार्यान्वयन गर्ने योजना बजेटले बनाएको छ ।

अर्थमन्त्री शर्माले यो कार्यक्रमलाई कार्यान्वयन गराउन सके र नेपाल सरकारका अघिल्ला योजना जस्तै बालुवाको पानी भएन भने यो कार्यक्रमबाट लाखौँ विद्यार्थी लाभान्वित हुने निश्चित छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड