काठमाडौँ- लामो समयदेखि कोभिड-१९ महामारीका कारण बन्द शैक्षिक संस्था खोल्ने निर्णय अझै अनिश्चित बनेको छ। आज, असोज १ २०७८ बाट भौतिक उपस्थितिमा विद्यालय सञ्चालन अनुमति दिएको जिल्ला प्रशासन कार्यालय आफ्नो निर्णयबाट पछि हट्दै अहिलेनै विद्यालय सञ्चालन गर्ने बेला नभएको भन्दै सूचना जारी गरेपछि शैक्षिक संस्थाहरू मारमा परेका हुन्।
उसले सूचनामा भनेको छ, “शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्नरगराउन नपाउने। गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नु पुर्व आ-आफ्नो पालिकास्तरमा कोभिड-१९ सङ्क्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने”।

यता हिजै त्रिभुवन त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्पूर्ण क्याम्पस, विभाग र स्कुलहरूलाई सूचित गरेको छ। हाल क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस ,विभाग र स्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी एवम् सतर्कता अवलम्बन गर्दै २०७८ आश्विन १ गतेदेखि सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्ने निर्णय भएकाले सोहीअनुसार गराउनु भन्दै उसले सूचना निकालेको हो।

यसरी थरी थरीका सूचना आउँदा आम, अभिभावक, विद्यार्थी तथा शिक्षक भने चिन्ता र दुबिधामा परेका छन्।