काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा मन्त्री तोक्न नसक्दा खुला विज्ञापन र अनुमति पत्रको परीक्षाको पर्खाइमा रहेका शिक्षक तथा विद्यार्थीहरू अन्योलमा परेका छन्। लाइसेन्स, बढुवा र खुला तर्फको विज्ञापन गर्न नियमावलीमा भएका केही प्रावधानले समस्या पर्ने भन्दै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाइएको र विचाराधीनमा रहेको छ । शिक्षा मन्त्री नभएको र शिक्षा मन्त्रालय प्रधानमन्त्री आफैले समालेका कारण नियमावली संशोधनमा ढिलाइ भएको आयोगको तर्क छ । उक्त ढिलाइले आयोगको काम समेत प्रभावित बनेको छ।
सामाजिक सञ्जालहरूमा भने आयोगले तयारी गरिरहेका परीक्षार्थीहरूको भावना बुझ्न नसकेको, प्रभावकारी काम गर्न नसकेको लगायतका अनेक आरोप लागेका छन्। यसै सन्दर्भमा आज मात्र एजुकेसनले आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठ तथा सूचना अधिकारी सुदर्शन मरहट्ठासँग एक्सक्लुसिभ अन्तर्वार्ता गरेको छ। अन्तर्वार्ताका क्रममा आयोगका सूचना अधिकारी मरहट्ठाले अध्यक्ष मधुप्रसाद रेग्मी कोरोना सङ्क्रमणका कारण बिरामी भएकाले कार्ययोजना बनाउने काम पुरा हुन नसकेको, आयोगले पाउनुपर्ने रिक्त दरबन्दीको तथ्याङ्क पनि आई नसकेको र लाइसेन्स पहिले कि विज्ञापन पहिले भन्ने निर्णयका लागि शिक्षा मन्त्री नभएको, केही विषयको पाठ्यक्रम बन्ने क्रममा रहेको हुँदा दसैँअघि नै विज्ञापन खोल्ने सम्भावना न्यून भएर गएको बताएका छन्। यद्यपि आयोगले दसैँअघि नै खोल्ने भन्ने निर्णय गरेर तयारी सुरु गरे आफ्नो भूमिका निर्वाह गर्न सचिवालयका कर्मचारी तयार रहेको उनले बताएका छन्।
अन्तर्वार्ताका क्रममा हामीले परीक्षार्थीहरूका तर्फबाट प्रश्न सोधेर जवाफ लिने काम गरेका छौ। तपाईँ तलको लिङ्क थिचेर उक्त अन्तर्वार्ता हेर्न सक्नुहुन्छ।