काठमाडौँ- शिक्षक सेवा आयोगलाई प्रधानमन्त्री कार्यालयबाट अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन लिएर मात्र शिक्षक छनोटको विज्ञापन गर्न दबाब आएको छ ।
लामो समय पदाधिकारी विहीन भएपछि कार्यतालिका बिग्रिएर कार्यतालिका निर्माणको अन्तिम चरणमा पुगेको आयोगलाई प्रधानमन्त्री कार्यालयबाटै लाइसेन्स परीक्षापछि मात्र विज्ञापन गर्न दबाब आएको हो ।
मन्त्रालयका उच्च पदाधिकारीको प्रयोग गरेर प्रधानमन्त्रीबाट सिधै कार्यतालिकामा नै लाइसेन्सपछि मात्र खुला विज्ञापनको कार्यतालिका सार्वजनिक गर्न दबाब आएको नाम सार्वजनिक नगर्ने सर्तमा आयोगका एक पदाधिकारीले बताए । ‘हामीलाई लोक सेवाको जस्तै काम गर्न जनस्तरबाट दबाब आए पनि जहिल्यै राजनैतिक हस्तक्षेपको सिकार भएर मात्र काम गर्नुपर्छ ।’ ती पदाधिकारीले दाबी गर्दै भने, ‘प्रधानमन्त्रीले शिक्षा सचिवलाई प्रयोग गरेर नै कार्यतालिका परिमार्जन गर्न बाध्य बनाए ।’
यसअघि शिक्षाशास्त्र विषय मात्र पढेका विद्यार्थीलाई लाइसेन्सको परीक्षामा सहभागी गराउँदै आएको आयोगलाई १८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने गरी लाइसेन्सको विज्ञापन गर्न दबाब दिइएको उनले दाबी गरे ।
लामो समय विज्ञापन गर्न नसकेको आयोगलाई अहिले विज्ञापन र शिक्षक छनोटमा समेत सहजता नहुने देखिएको उनको दाबी छ । एडुपत्र बाट साभार