Matra Education आइतबार, साउन १० २०८३

७ करोडको बिद्यालय भवन १ बर्षमै चुहियो, कस्ले लिने जिम्मा ?

७ करोडको बिद्यालय भवन १ बर्षमै चुहियो, कस्ले लिने जिम्मा ?

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र ५ २०७८


काठमान्डौ- शिक्षा क्षेत्रमा भएको एउटा चरम भ्रष्टाचारको खबर बाहिर आएको छ। निर्माण भएको एक वर्ष नबित्दै मन्थली नगरपालिका-१२ मा रहेको श्री माध्यमिक विद्यालय चुहिन थालेपछि त्यहाँ प्रभावकारी काम नभएको पुष्टि भएको हो। सात करोड बढी लागतमा बनेको विद्यालय भवन एक वर्ष नबित्दै चुहिन थालेको र ढलान उप्किएको जानकारी आएको छ। विद्यालय भवन निर्माण सकेर व्यवसायीले विधिवत् रूपमा हस्तान्तरण गर्न नै बाँकि रहेको अवस्थामा यो समस्या देखिएपछि त्यसले हाम्रो शिक्षा क्षेत्र, समग्र प्रशासन र विकास निर्माणबारे अझै प्रश्न उठाउने ठाउँ दिएको छ ।

एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको नयाँ सुविधा सम्पन्न विद्यालय भवनको छतबाट भुइँतला सम्मै पानी चुहिएर कक्षा कोठा डुबानमा परेका छन् । वि.स. २०७२ सालको विनाशकारी भूकम्पले पुरानो विद्यालय भवन भत्काएपछि एडिबीको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएको हो । भवन निर्माणको जिम्मेवारी पाएको खानी निर्माण सेवा प्रालिले कमजोर र गुणस्तरहीन सामाग्री प्रयोग गरेका कारण नयाँ भवनको छतबाट पानी चुहिएको स्थानीय अभिभावकहरूले आरोप लगाएका छन् ।

विद्यालयका दुई वटा भवन एडिबीको ७ करोड ४६ लाख २४ हजार ७ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । २०७५ सालमा निर्माण कार्य सुरु भएर २०७७ चैत्र २८ गते सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएका दुई वटा भवनमा गरी २१ वटा कक्षा कोठा, ६ वटा शौचालय र घेरा बार समेत रहेको छ ।

बर्सातका कारण आकाशको पानी सबै भवन भित्र छिरेर कक्षा कोठाभरि पानी भरिएपछि अहिले ती कक्षाकोठामा पढाइ बन्द गरिएको छ । भूकम्पले पुरानो विद्यालय भवन भत्किएपछि एडिबीको सहयोगमा नयाँ भवन बन्दा खुसी भएका शिक्षक तथा अभिभावकहरू बनेको नयाँ भवन पनि बिग्रेपछि चिन्तित बनेका छन् ।

विद्यालयमा जडान भएको विद्युत् लाइन सर्ट भएर विद्यार्थीहरूलाई करेन्ट लाग्ने पो हो की भन्ने चिन्ताले आफूहरूलाई सताएको स्थानीयहरू बताउँछन्। विद्यालय गएका बालबालिका सकुशल घर फर्केर नपुगुन्जेल दैनिक उनीहरूलाई यो चिन्ताले सताउँछ। विद्यालयको घेरा बार सबै लडेको छ । भुइँतलामा गरेको ढलान सबै उप्किएको छ । विद्यालय निर्माण गर्दा धेरै लापरबाही भएको प्रस्टै देखिन्छ ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको अवस्थाबारे निर्माण व्यवसायी र जिल्ला आयोजना कार्यालय (शिक्षा) लाई जानकारी गराइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड