काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै साउनको अन्तिमबाट सुरु गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरेको परीक्षा बोर्ड अब भने सञ्चालनको तयारीमा जुटेको छ। सीसीएमसीको सिफारिस र निर्देशन अनुसार बोर्डले परीक्षा रोकेको थियो । त्यसबाट लाखौँ विद्यार्थीमा परीक्षा कहिले हुन्छ र कसरी हुन्छ भन्ने अन्योल सिर्जना भएको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड यसबारे निर्णय लिने तयारी गरिरहेको छ। बोर्डले दसैँ अगावै परीक्षा गर्ने तयारी गरेको छ । विद्यार्थीलाई कोरोना भाइरसको खोप दिए लगत्तै परीक्षा गर्ने तयारी भएको हो ।
शुक्रवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले कक्षा १२ को परीक्षा पुनः सञ्चालन गर्न सरकारलाई सुझाव दिएका छन् । उनीहरूले यसअघि परीक्षा स्थगित गरेको भन्दै सरकारको आलोचना समेत गरे ।
अब सरकारले परीक्षा दिने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिएर परीक्षा सुचारु गर्ने तयारी गरेको छ । तर, परीक्षा आफू अध्ययन गरेको विद्यालयबाटै हुने या अन्य सेन्टरबाट गर्ने भन्ने अन्योल कायमै छ ।
शुक्रवार समितिमा पूर्व शिक्षामन्त्री समेत रहेका सांसद गिरिराजमणि पोखरेलले जनस्वास्थ्यको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न निर्देशनात्मक सुझाव दिए । उनले विद्यार्थीको भविष्यलाई अन्यौलता नराख्न भने ।
सांसद जीवनराम श्रेष्ठले पनि परीक्षा तत्काल सञ्चालन गर्न जोड दिए । उनले मापदण्ड तोकेर परीक्षा तत्काल सञ्चालन गर्न सुझाव दिए । सांसद मानबहादुर विश्वकर्माको सुझाव पनि विद्यार्थीलाई गृह जिल्लामै होम सेन्टर दिएर परीक्षा सञ्चालन गर्न थियो ।
सांसदहरूको सुझावसमेतलाई ध्यानमा राखेर परीक्षा चाँडै गर्ने तयारी चलिरहेको बुझिएको छ । असोजको सुरुमै परीक्षा गर्ने गरी तयारी भइरहेको हुँदा सोही अनुसार हुने अपेक्षा गर्न सकिन्छ ।