काठमाडौँ- लामो समयदेखि पदाधिकारीविहीन बनेको शिक्षक सेवा आयोगमा हालै पाँच वर्षका लागि पदाधिकारी नियुक्त भएका छन् । नेपाल सरकारले आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी तथा सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन लाई नियुक्त गरेको छ। आयोग सदस्य विहीन हुँदा देखिकै धेरै कामहरू थुप्रिएर बसेकाले यो नयाँ टिमलाई अवसर र चुनौती बराबर छन् । ०७४र७५ देखि शिक्षक पदपूर्ति हुन सकेका छैनन् । बढुवाका कामहरू पनि रोकिएका छन् । लाइसेन्सिङका काम ०७६ सालमा भएपछि भएको छैन । यस्तो अवस्थामा यी रोकिएका कामहरू आयोगले कहिले सम्पन्न गर्छ भन्ने जिज्ञासा यो क्षेत्र सँग सरोकार राख्ने सबैको छ।
आयोगले शिक्षकको दरबन्दी चाडै खुलाउने तयारी गरे पनि कहिले भन्ने टुङ्गो नभएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी बताउँछन् । तर आयोगले यसका लागि पूर्व तयारी भने सुरु गरिसकेको छ । तथ्याङ्कलाई हेर्ने हो भने अहिले पदपूर्तिको लागि १२ हजार दरबन्दी खाली छ । त्यो गत वर्षको चैत मसान्तसम्मको हो । योबिचमा धेरै खाली भइसकेका छन् । बढुवामा २६९१ रिक्त छन् । त्यो पनि चैत मसान्तसम्मको हो । यो बिचमा बढुवा हुनुपर्ने पदहरू धेरै रिक्त भइसकेका छन् । अद्यावधिक गर्दा यो सहित जोडेर पठाउनुपर्ने जिम्मेवारी आयोगको छ ।
आयोगलाई यो तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाउँछ । त्यहाँ अनुरोध गरेपछि उसले जिल्ला–जिल्लामा अनुरोध गरेर पठाउँछ । सम्बन्धित जिल्लाको शिक्षा तथा समन्वय एकाइबाट प्राप्त गर्नुपर्छ । त्यो भदौ १० भित्र पठाइदिनु भनेर ती एकाइहरूले परिपत्र गरिसकेको अवस्था अहिले छ । त्यसले पनि एउटा हलचल भएको जानकारहरू बताउँछन् । आयोग आयो र बढुवाको प्रक्रिया सुरु भयो भनेर उत्साह जगाएकोले पनि धेरै प्रतीक्षा गर्ने तयारीमा शिक्षकहरू छैनन् भन्ने कुरा आयोगले बुझेको रिमालको भनाइ छ । उनका अनुसार सम्बन्धित एकाइबाट केन्द्र र त्यसपछि आयोगमा भदौको दोस्रो सातासम्म आउने अपेक्षा गर्न सकिन्छ । आइसकेपछि विषयगत र समावेशी कोटाको आधारमा छुट्ट्याएर आयोगले काम अगाडी बढाउँछ । विज्ञापन गर्नुअघि पाठ्यक्रम प्रकाशनका सबै काम भइसकेपछि मात्र दरबन्दी खुलाउन सकिने भएकाले सकेसम्म छिटो गर्ने तरखरमा आयोग रहेको छ ।