Matra Education आइतबार, साउन १० २०८३

के तपाईँले डिम्याट खाताबारे यी कुराहरू थाहा पाउनुभएको छ ?

के तपाईँले डिम्याट खाताबारे यी कुराहरू थाहा पाउनुभएको छ ?

  • मात्र एजुकेशन
  • बिहिबार, साउन २८ २०७८


हामी मध्य धेरैलाई सेयर बजार प्रवेश गर्ने रहर हुन्छ तर पर्याप्त ज्ञानको अभावमा हामी त्यसो गर्न सकिरहेका हुँदैनौ। सेयर बजारमा प्रवेश गर्नुअघि सबैभन्दा पहिलो आवश्यकता  डिम्याट खाता  हो।  आजको सेयर शिक्षा मार्फत हामी तपाईँलाई त्यही डिम्याट खाता बारे सम्पूर्ण  जानकारी दिँदै छौ।
के हो डिम्याट खाता ?
सेयर प्रमाणपत्र तथा अन्य धितो पत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिक करण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हित ग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि शेयर खरिदबिक्री गर्न सहज हुन्छ, खरीद विक्रीको हिसाब  छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हित ग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।
कसरी खोल्ने डिम्याट खाता ?
डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ताको एउटा फोटो र नागरिकताको प्रतिलिपि लिएर डिम्याट खाता खोल्ने कुनै (डिपी)मा जानुपर्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैङ्क, वित्तीय संस्था, मर्चेण्ट बैङ्कर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (ढिपी)को काम गर्ने गर्छन् । यस्ता संस्था हाल ६० ओटा छन् ।
कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट खाता
कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट रिक्वेष्ट फारम भर्नुपर्छ  । फारम भरेपछि कम्पनीको शेयर प्रमाणपत्रसमेत डिम्याट खाता भएको कम्पनीलाई अर्थात् ढिपीलाई बुझाउनुपर्दछ । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले सेयर रजिस्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित भएपछि खातामा जम्मा हुन्छ । खाता खोल्ने बित्तिकै डीपीले ग्राहकलाई चेक बुकजस्तै डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो, भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यस्तो स्लिप हराएमा सीडीएस एण्ड  क्लियरिङमा तुरुन्त जानकारी गर्नुपर्छ ।
कुनै कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको छ, तर सेयर धनीले सो कम्पनीको सेयर ढिपी खातामा जम्मा गरेको छैन भने पहिला त्यस्ता सेयर धनीले ढिपी खाता खोलेको कम्पनीलाई सोको जानकारी दिनुपर्दछ । त्यसपछि हकप्रद सेयरको फारम भर्दा डिपोजिटरी डिपार्टमेन्ट र बेनिफिसियल ओनर आईडी नम्बर उल्लेख गरेमा सेयर सोझै लगानीकर्ताको खातामा जम्मा हुन्छ ।
सेयर नहुनेको पनि डिम्याट खाता
आफूसँग कुनै कम्पनीको शेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ । डिम्याट खाता खोलेपछि शेयर कारोबारका लागि डिम्याट रिक्वेष्ट फारम लिएर त्यहाँ भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको सेयर राख्ने हो, त्यसको आईएसआईएन सङ्केत उल्लेख गर्नुपर्छ । आईएसआइएन सङ्केत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार यो सङ्केत फरक हुने गर्दछ । डिम्याट गर्ने कम्पनीसँग सोधेमा यो सङ्केत पाउन सकिन्छ ।
एकभन्दा बढी खाता खोल्न पनि मिल्ने
हित ग्राही खाता खोल्न रु. ५० तिर्नुपर्छ भने खाता खोलेपछि वार्षिक शुल्क रु. १ सय लाग्छ । लगानीकर्ताले एकभन्दा बढी डीपीमार्फत खाता खोल्न पाउने पनि सुविधा छ । अलगअलग खाता खोल्दा प्रारम्भिक शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्दछ । लगानीकर्ताको खाता विवरण एउटै रहने भए पनि खाता नम्बर भने अलगअलगै हुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड