आजको मानव जीवन व्यस्त र भाग दौड पूर्ण छ। आधुनिक जीवनशैली अङ्गालेको मानव समाजलाई भौतिकवादले जति सुख सुविधा दिएको छ त्यति नै चुनौतीहरू पनि थपेको छ। सीमित श्रोत साधनहरूबाट असीमित आवश्यकता पुरा गर्नुपर्दा र अन्य विविध कारणले डर, चिन्ता, तनाव आदि मानव जीवनका अभिन्न अङ्ग जस्तै भएका छन्। आज हामी तपाईँलाई स्वास्थ्य शिक्षा स्तम्भ मार्फत तनाव र यसको रोकथामबारे जानकारी दिने प्रयास गर्नेछौ।
तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै सङ्कटमा हुन्छौं तब हाम्रो मानसिक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस आदि महसुस गर्छ। त्यस्तै खानामा अरुचि हुने र एक्लै बस्न मन लाग्ने पनि हुन्छ । त्यति मात्रै होइन बेला बेला हुने विभिन्न गतिविधि जो हाम्रो जीवनसँग सम्बन्धित हुन्छ त्यसले पनि हामीमा तनाव उत्पन्न गराउन सक्छ । तनावको बेलैमा उचित समाधान खोज्न सकिएन भने त्यही तनावले शारीरिक स्वास्थ्यमा गम्भीर प्रकारका समस्या निम्त्याउँछ ।
उदाहरणका लागि हामी अहिले बाचिरहेको समयलाई लिन सकिन्छ। कोरोना भाइरसको महामारी फैलिरहेको यो समयमा विश्वभरका मानिसहरूको तनाव पनि त्यतिकै मात्रामा बढेको छ । कोरोनाको सुरुवातदेखि नै मानिसमा तनाव उत्पन्न हुने र कति जना त डिप्रेसनमा पनि गएका छन् । कोरोना महामारीका कारण कतिपयले जागिर गुमाए, अध्ययन प्रभावित भयो, घरमै बस्दा वा साथीभाइसँग भेट्न नपाउँदा पनि मानिसहरूमा तनाव उत्पन्न भएको छ । जुन चिन्ताको विषय रहेको विज्ञहरू बताउँछन् ।
तनाव कम गर्न हामीले विभिन्न उपायहरू अपनाउन सक्छौ । यी विभिन्न तरिकाहरू मध्येको एक आयुर्वेद उपचार पद्धतिमा पनि विभिन्न विधिहरू छन् । मानसिक, भावनात्मक र शारीरिक लगायत अलग अलग किसिमका तनावलाई अलग अलग प्रकारले उपचार गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ ।
आयुर्वेदका अनुसार मानसिक तनाव मस्तिष्कको चाहिने भन्दा बढी प्रयोग र दुरुपयोग गर्यो भने हुन्छ ।
यदि तपाईँ धेरै समय आवश्यक भन्दा बढी कम्प्युटरमा बस्नु भयो भने मानसिक कार्य क्षमता, शक्ति र मस्तिष्कसँग जोडिएको प्राण वायु तत्त्वमा असन्तुलन पैदा हुन्छ ।
के के हुन् तनावका लक्षणहरू ?
मानसिक लक्षण :
स्मरण शक्तिमा समस्या,
एकाग्रतामा कमी ,
कुनै कुरा ठम्याउन समस्या,
नकारात्मक सोचमा वृद्धि,
निरन्तर चिन्ता
भावनात्मक लक्षण :
व्यवहारमा परिवर्तन,
छटपटी र अनियन्त्रित रिस,
बेचैनी र विश्राम गर्न नसक्ने,
सधैँ हारेको अनुभव ,
एक्लोपनको महसुस,
डिप्रेसन वा वितृष्णा बढ्नु
शारीरिक लक्षण :
पिडा वा दुखाइको अनुभव,
कब्जियतको समस्या,
चक्कर वा कमजोर महसुस,
यौन रुचि घट्नु ,
निरन्तर चिसो लाग्नु,
खानामा अरुचि तथा खाएको कुरा अपच हुनु,
मुटुको चाल बढिरहनु
स्वभावसँग जोडिएको लक्षण :
आवश्यकभन्दा कम वा बढी खाने र सुत्ने,
अरूसँग धेरै नबोल्ने र बोलेमा अनावश्यक झर्किने,
आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने,
आरामको लागी मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा लिने।
कसरी छुटकारा पाउने ?
नकारात्मक सोचलाई त्याग्नुहोस्,
मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा नलिनुहोस् ,
ठुला ठुला निर्णय नगर्नुस् र अरूसँग सल्लाह माग्नुहोस्,
दैनिक कम्तीमा ८ घण्टा सुत्नुहोस् रातको १० बजे अगाडी निदाउने प्रयास गर्नुस् ।
के के आयुर्वेदिक औषधि सेवन गर्ने त ?
दैनिक गाईको तातो दूधमा कम्तीमा ५ दाना बदाम मिलाएर पिउनुस् वा मह र १ ग्राम कालो मरीच घोलेर दैनिक २ पटक पिउनुस् ।
निधारमा नीमको पात वा अदुवासँग दूध मिसाएर बनाइएको लेप लगाएर कम्तीमा १ घण्टा दैनिक उत्तानो परेर निदाउनुस् ।
क्षीरवाला तेल, धन्वन्तरि तेल वा नरिवलको तेलले पुरै शरीर मालिस गर्नुस् ।
दैनिक खानासँग लस्सीमा ग्लुकोज मिसाएर पिउनुस् ।
तनाव बढेको महसुस गर्नुभयो भने अँध्यारो कोठामा गएर करिब आधा घण्टा विश्राम गर्नुस् ।
तपाईँ तनाव कम गर्न आजै देखि आफ्नो खानपान र दैनिक अभ्यास माथि भने अनुसार गर्नुस् ।
यदि सधैँ तनावलाई बोकेर हिँड्नुभयो भने मुटु रोग, पेप्टिक अल्सर, क्यान्सर लगायत गम्भीर प्रकारको मानसिक रोगले तपाईँलाई सताउने निश्चित छ । त्यस्तै यी विधिहरूको पालना गर्नुभयो भने तपाइले स्वस्थ जीवन जिउन सक्नुहुन्छ।