काठमाडौँ- कपनको मिलनचोक स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गरेको छ। शनिवार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित ‘२६औँ एसइई फेलिसिटेसन तथा फेयरवेल कार्यक्रम–२०८३’ मार्फत विद्यार्थीहरूलाई सम्मान, शुभकामना तथा बिदाइ गरिएको हो।
विद्यालयका अनुसार यस वर्षको एसइई परीक्षामा सहभागी १०१ जना विद्यार्थीमध्ये १६ जनाले ४ जिपिए हासिल गरेका छन्। ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई जनही रु १० हजार १ सय ५ नगदसहित विशेष सम्मान प्रदान गरिएको थियो। अन्य विद्यार्थीहरूलाई सम्मान पत्र, मायाको चिनो तथा ग्र्याजुएसन ह्याट प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले अघिल्लो वर्षको एसइईमा २० जना विद्यार्थीले ४ जिपिए ल्याउँदै बागमती प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गरेको छ। साथै एसएलसी प्रणाली लागू भएको समयमा समेत रिलायन्सले पटक–पटक बोर्ड प्रथम बन्न सफल भएको स्मरण गरिएको छ।
रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख सुरेश कुमार जोशी उपस्थित थिए। विशेष अतिथिका रूपमा रिलायन्स नेटवर्कका बोर्ड सदस्य राजुकुमार शिवाकोटी सहभागी भएका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विद्यालयले आधुनिक शिक्षासँगै संस्कार, अनुशासन र जीवनोपयोगी सीपलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ। सोही अनुसार कार्यक्रमको सुरुवात ध्यान अभ्यासबाट गरिएको थियो। विद्यालयले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा व्यवहारिक सिकाइलाई विशेष जोड दिँदै आएको बताएको छ।
विद्यालयका प्रधानाध्यापक खेमराज भुसालले स्वागत मन्तव्य राख्दै उत्कृष्ट नतिजा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको लगनशीलता, अभिभावकहरूको विश्वास तथा विद्यालयको निरन्तर प्रयासको परिणाम भएको बताए। उनले रिलायन्स इन्टरनेशनल एकेडेमीले अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर विद्यार्थीको सर्वाङ्गीण विकासमा काम गर्दै आएको उल्लेख गरे।
उनका अनुसार विद्यालयले विगतका वर्षहरूमा पनि लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। २०७० सालमा एसएलसीमा बोर्ड प्रथम, २०७५ सालमा संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा तथा २०७९ सालमा पुनः बागमती प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयले स्मरण गराएको छ। यस वर्ष पनि एसइई २०८३ मा उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका सभापति थापाले २६औँ ब्याचका विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनले रिलायन्स नेटवर्कअन्तर्गत अध्ययन गरेका २ हजारभन्दा बढी विद्यार्थी विभिन्न क्षेत्रमा सफलतापूर्वक अघि बढिरहेको उल्लेख गरे। उनले विद्यालयले केवल पाठ्यपुस्तकमा आधारित शिक्षामा मात्र नभई व्यवहारिक ज्ञान, संस्कार र जीवनोपयोगी सीपमा विशेष ध्यान दिँदै आएको बताए।
“रिलायन्समा पढ्दा संसार पाइन्छ” भन्ने भनाइ दोहोर्याउँदै उनले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमतामा विद्यालयले निरन्तर काम गर्दै आएको उल्लेख गरे।
प्रमुख अतिथि जोशीले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई बधाई दिँदै शिक्षालाई व्यवहारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए। उनले केवल अंक प्राप्त गर्नु मात्र ठुलो कुरा नभई त्यसलाई जीवनमा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु महत्त्वपूर्ण भएको धारणा राखे।
विशेष अतिथि शिवाकोटीले रिलायन्सले आफूलाई गुणस्तरीय शैक्षिक संस्थाका रूपमा स्थापित गरिसकेको बताए। उनले विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त प्रतिभा विकास र सामाजिक जिम्मेवारीमा समेत ध्यान दिँदै आएको उल्लेख गरे।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, विद्यालय गीत, नृत्य तथा अनुभव आदान–प्रदान प्रस्तुत गरेका थिए। साथै शिक्षक सम्मान, मायाको चिनो वितरण, विद्यार्थी सम्मान तथा शुभकामना आदान–प्रदानसमेत गरिएको विद्यालयले जनाएको छ।