Matra Education आइतबार, साउन १० २०८३

स्वागत तथा सम्मानका लागि मनास्लुले गर्‍यो राष्ट्रिय स्तरको कार्यक्रम

स्वागत तथा सम्मानका लागि मनास्लुले गर्‍यो राष्ट्रिय स्तरको कार्यक्रम

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन ६ २०८१


काठमाडौँ- चुच्चेपाटि चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले स्वागत तथा सम्मानका लागि राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम आयोजना गरेको छ। हिजो सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो भने संस्थाका उत्कृष्ट शिक्षक कर्मचारीहरू समेत सम्मानित भएका थिए। यस्तै मनास्लुले गत वर्ष देखि आयोजना गरेको तिन महत्त्वपूर्ण प्रतियोगिताहरु: ‘मनास्लु आइडल’ , ‘मनास्लु डान्सिङ स्टार’, र ‘मिस्टर एन्ड मिस मनास्लु’ २०८१ को ग्राण्ड फिनाले समेत उक्त अवसरमा सम्पन्न भएको थियो।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी प्रमुख जयन्ती सत्याल, महानायक राजेश हमाल, सञ्चारकर्मी राजेन्द्र बानियाँ, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, काठमाडौँ विश्वविद्यालयका डिन प्रा डा बालचन्द्र लुइँटेल, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायत विशेष अतिथिका रूपमा रहेका थिए । करिब ३०० भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेको कार्यक्रममा मनास्लुका क्याम्पस प्रमुख राजन श्रेष्ठ, फाइनान्स डिरेक्टर कुमार मोक्तान सहित बोर्ड अफ डाइरेक्टर, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको भव्य उपस्थिति रहेको थियो भने शिक्षा क्षेत्र सँग सम्बन्धित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा मनोरञ्जन दिनका लागि राष्ट्रिय कलाकारहरू नृत्यको क्षेत्रमा प्रसिद्ध तेरिया फौजा मगर, युवापुस्ता माझ लोकप्रिय कुमा सागर एण्ड ब्यान्ड तथा पछिल्लो समयकी चर्चित गायिका शान्ता रानी परियार उपस्थित रहेका थिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै मनास्लुका क्याम्पस प्रमुख श्रेष्ठले विद्यार्थीहरूको क्षमता प्रदर्शन गर्ने र विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरू बाट विद्यार्थीलाई उत्प्रेरित गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको बताए। अबको शिक्षा प्रमाणपत्र मात्रै दिने भन्दा पनि सीपमूलक हुनुपर्ने र मनास्लुले सोही किसिमको काम गर्दै आएको उनको भनाई थियो। श्रेष्ठले विद्यार्थीको सुन्दर भविष्य निर्माणका मनास्लुले कहिल्यै सम्झौता नगर्ने उल्लेख गरे।

कार्यक्रममा आ-आफ्नो क्षेत्रमा अतुलनीय योगदान गरेका पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई उनीहरूले उक्त क्षेत्रमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो। यस अन्तर्गत महानायक राजेश हमाललाई मनास्लु कलाकर्मी सम्मान २०८१, सञ्चारकर्मी राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान २०८१, राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई मनास्लु खेलाडी सम्मान २०८१, प्रा डा बालचन्द्र लुइँटेललाई मनास्लु शिक्षासेवी सम्मान २०८१ र समाजसेवी अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान २०८१ प्रदान गरिएको थियो।

सम्मान ग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित सञ्चारकर्मी बानियाँले कलेजप्रति आभार व्यक्त गरे। उनले कार्यक्रममा बसेर अवलोकन गरिरहँदा नेपालको भविष्य उपस्थित विद्यार्थीहरूमा देखेको सुनाए। आफ्नो विद्यार्थी जीवनको स्मरण गरेका उनले सम्मानित हुने अन्य ४ विशिष्ट व्यक्तित्वहरू सँग एउटै मञ्चमा सम्मानित हुनु आफ्ना लागि गौरवको विषय भएको उल्लेख गरे। पछिल्लो पुस्ताले आफ्नो समय रचनात्मक गतिविधिमा भन्दा बढी अन्य ठाउँमा बिताउने गरेकोमा चिन्ता व्यक्त गरेका उनले सामाजिक सञ्जालको पनि सही प्रयोग मात्रै गर्न सुझाए। उनले कार्यक्रममा उपस्थित सबैलाई सम्मानका लागि धन्यवाद दिए।

त्यस्तै महानायक हमालले विद्यार्थीहरू माझ आउँदा उनीहरूको ऊर्जा देखेर आफूलाई सधैँ खुसी लाग्ने गरेको बताए। युवावस्थाको त्यही ऊर्जा पनि अस्थायी हुने हुँदा त्यसको सही ठाउँमा प्रयोग गर्न उनको आग्रह थियो। प्रत्येक मान्छे एउटा छुट्टै व्यक्तित्व भएको हुँदा आफूलाई अरू सँग तुलना गर्ने भन्दा आफ्नो क्षमता पहिचान गरी निरन्तर त्यसैमा लाग्न उनले सुझाए। कार्यक्रममा सम्मानित भएकाहरू पाँच विभिन्न क्षेत्रका रहेको भन्दै उनले आज जुनसुकै क्षेत्रमा राम्रो गरे पनि सम्भावना छ भन्ने उदाहरण त्यही भएको उल्लेख गरे। आत्मविश्वास, निरन्तरको लगाव, मेहनत र इमान्दारिता नै सफलताको सूत्र भएको बताएका उनले सफलताको कुनै अरू छोटो बाटो नभएको भनाई राखे। पछिल्लो पुस्तालाई प्रतिस्पर्धा गरेर अब्बल बन्न अझै कठिन रहेको बताउँदै उनले जुनसुकै क्षेत्रमा गए पनि राम्रो उदाहरण बन्ने गरी लाग्न उपस्थित विद्यार्थीलाई सुझाए।

कार्यक्रममा आयोजना गरिएको तिन प्रतियोगिताको ग्राण्ड फिनाले बाट अस्विन गुरुङ र रोसिन ढकाल क्रमशः मिस्टर एण्ड मिस मनास्लु उपाधि चुम्न सफल भए। त्यस्तै मनास्लु डान्सिङ स्टारको विजेता बन्न बबिता मगर सफल भइन् भने मनास्लु आइडलको उपाधि सन्देश लोले आफ्नो पोल्टामा पारे। कार्यक्रममा विजेताहरू पुरस्कृत हुनुका साथै उत्कृष्ट शिक्षक कर्मचारी तथा विद्यार्थी पनि सम्मानित भएका थिए।

कार्यक्रमको अनौपचारिक सत्र झनै विशेष बन्न पुगेको थियो। मनास्लुका प्रतिभाशाली विद्यार्थीको प्रस्तुतिले सन्देशमूलक र मनोरञ्जनात्मक बनेको कार्यक्रमलाई शान्ता रानी परियार र कुमा सागर एण्ड ख्वप ब्यान्डको सांगीतिक प्रस्तुतिले तताएको थियो। त्यस्तै तेरियाको उपस्थिति र नृत्यले कार्यक्रम झनै रोचक बन्यो।

कार्यक्रमका प्रमुख अतिथि सिंहले विद्यार्थीका विविध प्रस्तुतिहरू अवलोकन गरिरहँदा आफूलाई नेपालको शिक्षाको गुणस्तर वास्तवमै बढेको रहेछ भन्ने महसुस भएको बताए। समाजमा नकारात्मकता फैलाउनकै लागि सामाजिक सञ्जाल बाट व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूले विश्वका कुनै पनि मुलुक रातारात बनेको छैन भन्ने बुझ्नुपर्ने उनको भनाई थियो। गएका केही वर्षमा नेपालमा धेरै कुराहरू परिवर्तन भएको उल्लेख गरेका उनले नेपालमै पढेर भविष्य बनाउन सकिन्छ भन्ने सोच राख्न विद्यार्थीहरूलाई अनुरोध गरे। मनास्लुले शिक्षा सँगै आफ्ना विद्यार्थीको व्यक्तित्व विकासका लागि पनि काम गरेको आफूले पाएको उल्लेख गरेका उनले त्यसले निरन्तरता पाओस् भन्ने कामना गरे। उनले सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।

कार्यक्रम समापन गर्दै सभापति लामाले मनास्लुले दिनभर देखाएको प्रस्तुतिहरू नै संस्थाको परिचय भएको उल्लेख गरे। कलेजले आफ्ना विद्यार्थीलाई राष्ट्रिय स्तरको कार्यक्रम गरिने ठाउँमा ल्याएर कार्यक्रम गर्दा उनीहरूले धेरै कुरा सिक्ने र राष्ट्रिय कलाकार ल्याउँदा कलाकारको पेसागत वृत्ति तथा सम्मान हुने भएकाले पनि कार्यक्रम यसरी गरिएको उनको भनाइ थियो । त्यस बाहेक भावी पुस्ताको नेतृत्व जन्माउने कलेजको उद्देश्य पूरा गर्नमा यस किसिमका कार्यक्रमले सहयोग गर्ने उनको धारणा थियो । लामाले कार्यक्रमलाई राष्ट्रिय स्तरको झल्को दिने गरी सम्पन्न गर्न आ-आफ्नो ठाउँ बाट भूमिका खेल्ने आयोजक सहित उपस्थित सबैलाई एकमुस्ट आभार प्रकट गर्दै कार्यक्रम अन्त्य गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड