काठमाडौँ– चाबहिलस्थित सेन्ट लरेन्स कलेजले बिएससी-सिएसआइटी र बिसिए अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ। शनिवार सुकेधारा स्थित मर्क्योर होटेलमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै कलेजले स्नातक तहमा आइटी अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई कलेज, अध्ययन प्रक्रिया, अवसर तथा भविष्यका सम्भावनाबारे जानकारी दिएको हो।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका विभागीय प्रमुख डा. धिरज केदार पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, सेन्ट लरेन्स माध्यमिक विद्यालय तथा प्लस टुका प्राचार्य तारा प्रसाद सुवेदी सहित विभिन्न आइटी क्षेत्रका उद्योगी तथा विज्ञहरूको उपस्थिति थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सेन्ट लरेन्स स्कुलका प्राचार्य सुवेदीले सेन्ट लरेन्स मन्टेश्वरी देखि मास्टर्स तहसम्म अध्ययन हुने पूर्ण शैक्षिक संस्था रहेको बताए। उनले विश्वविद्यालय तहमा बिसिए र बिएससिएसआइटी अध्ययनका लागि सेन्ट लरेन्स रोजेकोमा विद्यार्थीलाई धन्यवाद दिँदै आगामी चार वर्ष विद्यार्थीको प्रगतिका लागि कलेज परिवार अहोरात्र खटिने बताए। आइटी सिर्जनाशीलतामा बढी ध्यान दिनुपर्ने क्षेत्र भएको उल्लेख गर्दै उनले नेपालमा यस क्षेत्रको सम्भावना उच्च रहेको बताए। नेपालमा बसेर अध्ययन गर्ने मात्र नभई यहीँबाट विदेशी कम्पनीमा समेत काम गर्न सकिने भन्दै उनले मेहनत र प्रयास गर्ने हो भने नेपालमै बसेर आइटी अध्ययन गर्ने विद्यार्थीको भविष्य उज्ज्वल रहेको बताए। उनले विद्यार्थीलाई काम खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने बन्न सुझाव दिए।
कार्यक्रममा सेन्ट लरेन्सको विद्यार्थी गुणस्तर सर्कल (एसक्यूसी) की अध्यक्ष सुधा कार्कीले कलेजका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा बधाई दिइन्। उनले सेन्ट लरेन्समा अध्ययनका क्रममा विद्यार्थीले पढ्ने र पढाउने वातावरणसँगै पारिवारिक वातावरणसमेत प्राप्त गर्ने बताइन्। नेतृत्व क्षमता तथा व्यक्तित्व विकासका लागि कलेजले विभिन्न क्लबमार्फत गतिविधि गर्दै आएको उल्लेख गर्दै उनले विद्यार्थीलाई त्यस्ता गतिविधिमा सक्रिय सहभागी हुन आग्रह गरिन्।
कार्यक्रमका विशेष अतिथि तथा एआई रिसर्च एन्ड डेभलपमेन्ट लिड श्रवण पौडेलले आफूले पनि बिएससिएसआइटी अध्ययन गरेको अनुभव सुनाउँदै विद्यार्थीले राम्रो बाटो छनोट गरेको बताए। आफूले सुरुवातमा मेडिकल अध्ययन गर्न चाहेको भए पनि कम्प्युटर विज्ञानलाई विकल्पका रूपमा राखेको र अन्ततः आइटी क्षेत्रमा आउनु आफ्नो जीवनकै राम्रो निर्णय बनेको उनले बताए। मेसिन लर्निङ लगायत आइटी क्षेत्रमा आफूले गरिरहेका कामका उदाहरण प्रस्तुत गर्दै पौडेलले आइटीमा सफल हुन अध्ययनसँगै निरन्तर सिकाइ र प्रयोग आवश्यक रहेको बताए। सेन्ट लरेन्स कलेजसँग आफ्नो कम्पनीले सहकार्यका लागि सम्झौता गरेको जानकारी दिँदै उनले विद्यार्थीलाई आइटी क्षेत्रमा करिअर निर्माण गर्ने विभिन्न उपायबारे सुझाव दिएका थिए।
कार्यक्रमका अर्का अतिथि तथा ट्रस्ट ब्रिज क्यापिटलका संस्थापक एवं खल्तीका पूर्व प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सेन्ट लरेन्समा अध्ययन गर्ने निर्णय उत्कृष्ट भएको बताए। आफूले चार्टर्ड अकाउन्टेन्ट अध्ययन गरे पनि आइटी क्षेत्रमा उद्यमीका रूपमा काम गरेको अनुभव सुनाउँदै उनले अहिलेका विद्यार्थीले कलेजमै अध्ययन गर्ने क्रममा बलियो नेटवर्क बनाउन सक्ने अवसर पाएको बताए। आफूले हाल लगानी गरेको एउटा एआई कम्पनीमा समेत स्नातक तह पूरा गरेका तीन जना युवाले संस्थापकका रूपमा काम गरिरहेको उदाहरण दिँदै खड्काले उनीहरूले अध्ययनका क्रममा बनाएको नेटवर्ककै आधारमा कम्पनी अघि बढाउन र लगानी जुटाउन सफल भएको बताए। आइटी क्षेत्रमा सम्भावना राम्रो रहेको उल्लेख गर्दै उनले सफल हुन जोखिम लिन सक्नुपर्ने बताए।
आइटी क्षेत्रमा काम गर्ने कतिपय व्यक्तिमा अन्तर्मुखी स्वभाव देखिने भए पनि विद्यार्थीले नेटवर्क निर्माण र सञ्चार सीपमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। सीप कलेजले प्रदान गर्न सक्ने भए पनि सकारात्मक सोच र व्यवहार आफैँले निर्माण गर्नुपर्ने भन्दै उनले छिटो असफल हुनु पनि भविष्यको सफलताका लागि सिकाइ बन्न सक्ने बताए।
कार्यक्रममा सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले नव आगन्तुक विद्यार्थीलाई सेन्ट लरेन्सको वृहत् परिवारमा स्वागत गरे। उनले आइटी क्षेत्र निरन्तर परिवर्तन भइरहने भएकाले विद्यार्थीले डिग्रीमा मात्र सीमित नभई समयअनुसार नयाँ सीप सिक्दै जानुपर्ने बताए। एआईलगायत नयाँ प्रविधिको विकाससँगै भविष्यमा सिर्जना हुने रोजगारीका लागि अहिलेबाटै तयार हुनुपर्ने भन्दै उनले प्रविधिबाट डराउनेभन्दा त्यसलाई बुझेर प्रयोग गर्न सुझाव दिए।
नेपालमा आइटी क्षेत्रको सम्भावना उच्च रहेको र युवा जनशक्ति नेपालको प्रमुख प्रतिस्पर्धात्मक शक्ति भएको उल्लेख गर्दै उनले सीपसँगै सञ्चार क्षमता र समूहमा काम गर्ने क्षमता पनि विकास गर्नुपर्ने बताए। सेन्ट लरेन्सले विद्यार्थीलाई पाठ्यक्रममा आधारित शिक्षासँगै उद्योगसँगको सहकार्यमा सीप विकासका अवसर उपलब्ध गराउने र पहिलो दिनदेखि नै गैर क्रेडिट तथा सीपमा आधारित तालिम सञ्चालन गर्ने जानकारी दिँदै उनले विद्यार्थीका व्यवहारिक परियोजनालाई अघि बढाउन कलेजले बीउ पुँजीमार्फत सहयोग गर्ने तयारीसमेत गरेको बताए। आइटी क्षेत्रमा बढ्दो प्रतिस्पर्धामा टिक्न शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नहुने भन्दै उनले विद्यार्थीलाई अरूभन्दा थप मूल्य सिर्जना गर्ने सीप विकास गर्न आग्रह गरे।
कार्यक्रममा बिसिए तथा बिएससिएसआइटीका संयोजक अपिल अधिकारीले पाठ्यक्रम, अध्ययन प्रक्रिया, कलेजका नियम तथा आगामी चार वर्षमा विद्यार्थीले गर्नुपर्ने विभिन्न गतिविधिबारे अभिमुखीकरण गरेका थिए। उनले विद्यार्थीका लागि अध्ययनसँगै सीप विकास, उद्योगसँगको सहकार्य, इन्टर्नसिप तथा रोजगारीका अवसरलाई समेत प्राथमिकता दिइएको जानकारी गराए। कार्यक्रममा उद्योग र शैक्षिक क्षेत्र बिचको दूरी कम गर्ने विषयमा समेत प्रस्तुति गरिएको थियो। कलेजका तर्फबाट विनय पौडेलले ‘ब्रिजिङ द ग्याप–एकेडेमिक लर्निङ भर्सेस इन्डस्ट्री एक्सपेक्टेसन्स इन द एज अफ एआई’ विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रसँग सम्बन्धित सात वटा संस्थासँग सहकार्य सम्झौता समेत गरेको छ। सेक्योर आइक्यु ल्याब, कोड प्वाइन्ट नेपाल, नेपिट आइटी सोलुसन्स, फ्रन्टबुथ सोलुसन्स, शिवांश आइटी सोलुसन्स, वी टेक एन्ड हस्पिटालिटी तथा कोभोस्यास टेक्नोलोजी लगायतका संस्थासँग सहकार्य सम्झौता गरिएको हो। सम्झौताले विद्यार्थीलाई अध्ययनसँगै उद्योगको व्यवहारिक ज्ञान, इन्टर्नसिप तथा रोजगारीका अवसरसँग जोड्न सहयोग पुग्ने कलेजले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि डा. पाण्डेले त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी हुँदा विद्यार्थीमा देखिएको ऊर्जा देखेर खुसी लागेको बताए। उनले विश्वविद्यालयअन्तर्गत कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययनका अवसर र प्रक्रियाबारे जानकारी गराउँदै विद्यार्थीलाई अध्ययनका क्रममा निरन्तर सक्रिय रहन सुझाव दिए। बिएससिएसआइटी र बिसिए अध्ययनसँगै विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा करिअर बनाउन सक्ने उनले बताए। आइटी क्षेत्र निरन्तर परिवर्तन भइरहेकाले अहिले नै कुनै एउटा क्षेत्रमा सीमित हुनेभन्दा सुरुका सेमेस्टरमा आधारभूत ज्ञान र सीप बलियो बनाउनुपर्ने उनको भनाइ थियो। कलेजलाई पढाइसँगै अनुशासन, सहकार्य र समूहमा काम गर्ने सीप विकास गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले एआईलाई सिकाइ र ज्ञान विस्तारका लागि जिम्मेवार ढंगले प्रयोग गर्न सुझाव दिए। विश्वविद्यालयले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रमलाई थप समसामयिक बनाउने र उद्योग तथा कलेजका प्रतिनिधिसँग छलफल अघि बढाउने तयारी गरिरहेको जानकारी दिँदै उनले आइटी क्षेत्रमा नेपालका विद्यार्थीका लागि सम्भावना उच्च रहेको बताए।
कार्यक्रममा सभापति दंगालले विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयको उत्कृष्ट कार्यक्रममा भर्ना भएको उल्लेख गर्दै बिसिए र बिएससिएसआइटीमा भर्ना भएका सबैलाई सुखद भविष्यको शुभकामना दिए। सात वटा विभिन्न कम्पनीसँग भएको सहकार्यले विद्यार्थीका लागि आगामी दिनमा इन्टर्नसिप तथा रोजगारीका अवसर सहज हुने उनले बताए।
विद्यार्थीलाई आजैदेखि आफ्नो भविष्यको तयारी सुरु गर्न आग्रह गर्दै दंगालले सञ्चार सीपलाई पनि उत्तिकै महत्त्व दिन सुझाव दिए। अभिभावकलाई समेत कार्यक्रमका बारेमा जानकारी गराउँदै आफ्नो अध्ययन यात्रामा निरन्तर मेहनत गर्न उनले विद्यार्थीलाई आग्रह गरे। आइटी अध्ययन गरेपछि पछुताउनुपर्ने अवस्था नरहेको भन्दै उनले विद्यार्थीलाई सफल बनाउन कलेज प्रतिबद्ध रहेको बताए।
कार्यक्रमका थप तस्बिरहरु हेर्नुहोस्: