काठमाडौँ- सेन्ट लरेन्स कलेज चाबहिल (+२ ब्लक) मा यही माघ २४ र २५ गते ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८१’ आयोजना हुने भएको छ। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रोत्साहित गर्ने र उनीहरूमा भएको ज्ञान तथा प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
गत वर्षको सफल आयोजना पछि यस वर्षको संस्करणलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको तयारीलाई विशेष प्राथमिकता दिइएको छ। प्रतिस्पर्धात्मक यो कार्यक्रममा विद्यार्थीहरू ४ जनासम्मको टोली बनाएर सहभागी हुन सक्नेछन्। सहभागी टिमले आफ्ना सिर्जनात्मक र नवप्रवर्तनशील परियोजनाहरू प्रदर्शन गर्नेछन्। कार्यक्रममा ‘भिजिटर्स च्वाइस अवार्ड’ समेत प्रदान गरिनेछ जसमा अवलोकनकर्ताहरूको मतका आधारमा उत्कृष्ट परियोजनालाई सम्मान गरिनेछ।
प्रतियोगितामा प्रथम हुने विद्यालय (टोली) लाई नगद रु २०,००० मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ। द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद रु १५,००० र रु १०,००० सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
कार्यक्रमका विशेष आकर्षणहरू मध्ये सहभागी विद्यार्थीहरूले तयार गरेका विज्ञान र प्रविधि सम्बन्धी परियोजनाहरूको प्रदर्शनी प्रमुख रहेको छ। यसले विद्यार्थीहरूको अनुसन्धानात्मक र सिर्जनशील क्षमतालाई उजागर गर्दै उनीहरूलाई भविष्यका अवसरहरूको खोजीमा प्रेरित गर्नेछ।
सेन्ट लरेन्स कलेजका प्रधानाध्यापक तारा प्रसाद सुवेदीका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको ज्ञान मात्र होइन, सहकार्य, प्रतिस्पर्धा र आविष्कारको भावना अभिवृद्धि गर्न पनि महत्त्वपूर्ण छ। यसले नेपालको शैक्षिक क्षेत्रलाई नयाँ आयाम दिने विश्वास आयोजकको छ।
कार्यक्रमको अन्त्यमा उत्कृष्ट परियोजनालाई सम्मान तथा पुरस्कार वितरण गरिनेछ। आयोजकका अनुसार यस वर्ष कम्तीमा २५ टिमको सहभागिता सुनिश्चित गरिनेछ। विज्ञान र प्रविधिमा रुचि राख्ने विद्यार्थी, अभिभावक र अन्य शैक्षिक क्षेत्रका व्यक्तिहरूका लागि यो कार्यक्रम विशेष आकर्षणको केन्द्र हुने अपेक्षा गरिएको छ।