काठमाडौँ- चाबहिलको सेन्ट लरेन्स कलेजले प्लस टु तहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले आफ्ना विद्यार्थीलाई स्वागत गरेको हो । सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौँ महानगरपालिका वडा न ७ कि वडा सदस्य रुपा थापा विशेष अतिथि रहेको कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिहरू सहित सेन्ट लरेन्सका शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।

निकै आकर्षक स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रमलाई कलेजका अध्यापक तथा कार्यक्रम सञ्चालक एन के खड्काले कलेजको छोटो परिचय सहित औपचारिकता दिएका थिए । विगत २७ वर्षदेखि प्लस टु मा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको कलेजले कार्यक्रम मार्फत २८ औँ ब्याचलाई स्वागत गरेको उनको भनाई थियो ।

स्वागत मन्तव्य राख्दै कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले २७ वर्षको इतिहास बोकेको र देशभरका प्लस टु हरू मध्ये उत्कृष्ट ८ मा पर्न सफल भएको कलेज रोजेको भन्दै विद्यार्थीहरूलाई बधाई दिए। उनले तिन महिना अघि मात्रै सोही हलमा विद्यार्थीहरूलाई कक्षा ११ का लागि अभिमुखीकरण गरेको स्मरण गर्दै विद्यार्थीहरूले कलेजका बारेमा धेरै कुरा बुझिसकेको बताए । कार्यक्रममा विशेष सम्मानहरू राखिएको उल्लेख गरेका उनले सेन्ट लरेन्स आफ्ना सबै विद्यार्थीलाई सम्मान लायक बनाउन लागिपरेको भनाई राखे।
कार्यक्रममा शिक्षकहरूको प्रतिनिधित्व गर्दी सरोज महर्जनले आफ्नो भनाई राखेका थिए। उनले सेन्ट लरेन्सका सबै शिक्षकहरूले आफ्ना विद्यार्थीहरूको क्षमता विकास गरी उनीहरूलाई सक्षम जनशक्ति बनाउन मेहनत गरिराखेको उल्लेख गरे।
विद्यार्थीहरूका तर्फबाट स्वागत मन्तव्य राख्दै हाल कक्षा १२ अध्ययनरत छात्रा पूर्णिका ढकाल ज्योतिका राईले सेन्ट लरेन्स छान्ने निर्णय नवआगन्तुक विद्यार्थीहरूको सबैभन्दा राम्रो निर्णय भएको बताइन् । उनले आफू पनि कलेज कस्तो होला भन्ने दुबिधामै कलेज प्रवेश गरेको भए पनि आज कलेजको शैक्षिक वातावरण देखेर प्रभावित भएको उल्लेख गरिन्। सेन्ट लरेन्स हरेक हिसाबले उत्कृष्ट शैक्षिक संस्था भएकाले सबैको भविष्य उज्ज्वल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।

सफलताको गौरवमय २७ वर्ष पूरा गरेर २८ औँ वर्षमा सञ्चालनरत कलेजले कार्यक्रम मार्फत आफ्नो गुणस्तरको पहिचान दिएको थियो । सेन्ट लरेन्स बाट आफ्नो शिक्षा पूरा गरेर हाल आ-आफ्नो क्षेत्रमा नेतृत्व गरिरहेका विभिन्न क्षेत्रमा कार्यरत विद्यार्थीहरूलाई कार्यक्रममा राख्दै कलेजले आफ्नो पहिचान दर्साएको हो । कार्यक्रममा हाल कलेजमा अध्ययनरत रहेका र विभिन्न क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो । त्यस्तै वर्षका उत्कृष्ट शिक्षक तथा कर्मचारी पनि कार्यक्रममा पुरस्कृत भएका थिए।

कार्यक्रममा सेन्ट लरेन्स स्कुलका प्रधानाध्यापक तारा प्रसाद सुवेदीले आफ्नो शिक्षाका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई सही निर्णय गरेकोमा धन्यवाद र बधाई दिए। आगामी दुई वर्ष विद्यार्थीको सर्वपक्षीय विकासका लागि कलेजले सबै प्रयास गर्ने उनको भनाइ थियो। विद्यार्थीहरूले कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम देखाउने तयारी गरेको हुँदा त्यसले पनि सेन्ट लरेन्सको परिचय दिने उनले बताए। कलेज बाट अध्ययन पुरा गरेर जीवनमा सफल भएका र विभिन्न परीक्षाहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल भएकाहरूलाई सम्मान कार्यक्रम समेत गर्न लागिएको हुँदा कार्यक्रम अझै विशेष बन्ने आफ्नो अपेक्षा रहेको सुवेदीले बताए। उनले एउटा सुन्दर कविता वाचन गरेर समेत सुनाएका थिए।
कक्षा ११ का तर्फबाट धन्यवाद ज्ञापन गरेकी छात्रा अनिशा श्रेष्ठले अत्यन्तै राम्रो कार्यक्रम मार्फत स्वागत गरेको भन्दै कलेज प्रशासनलाई धन्यवाद दिइन् । आफ्नो उज्ज्वल भविष्यका लागि लामो र सफल इतिहास भएको कलेज छानेको उल्लेख गरेकी उनले सो निर्णय उत्कृष्ट थियो भन्ने यो ३ महिने यात्रामै बुझिसकेको बताइन्।
कार्यक्रमकी विशेष अतिथि थापाले स्वागत कार्यक्रम जस्ता क्षणहरू जीवनमा याददार र रमाइलो हुने बताइन्। उनले सानो दर्जा देखि उच्चतम दर्जा सम्मका सबैको भूमिकालाई सही मुल्यांकन गर्दै कलेजले सम्मान गरेको कुरा आफूलाई विशेष लागेको उल्लेख गरिन्। सेन्ट लरेन्सले विद्यार्थीलाई दिने छात्रवृत्तिको मात्रा ठुलो रहेको बताएकी उनले सबै विद्यार्थीको सुखद भविष्यको कामना गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले २७ वर्षसम्म विभिन्न आरोह अवरोह पार गरेर कलेज आजको स्थानसम्म आइपुगेको भन्दै खुसी व्यक्त गरे। कार्यक्रम अवलोकन गरिरहँदा पूर्व विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता हासिल गरेर सम्मान पाएको र उनीहरू देश तथा विदेशमा दक्ष जनशक्तिका रूपमा कार्यरत छन् भन्ने थाहा पाउँदा हर्ष लागेको बताए। महानगरमा झन्डै २ लाख ८० हजार विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरेका उनले सेन्ट लरेन्स विद्यार्थीले नेपाल टप गर्नु गर्वको विषय भएको भन्दै बधाई दिए। उनले पाठ्यक्रमका लक्षित सिकाइ उपलब्धि हासिल गर्न विद्यार्थी सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले चाबहिलमा उत्कृष्ट कार्य र नतिजा सहित सेन्ट लरेन्स कलेज रहेको र निरन्तर रहने बताए। उनले विभिन्न विषयमा अध्ययन गरेर आज सफल भएका पूर्व विद्यार्थीहरूको उदाहरण दिँदै हाल अध्ययनरत विद्यार्थीले पनि त्यस बाट प्रेरणा लिनुपर्ने उल्लेख गरे। गुणस्तरमा सम्झौता नगरी आफ्नो उद्देश्य पूरा गर्नका लागि कलेज सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो । अभिभावकको सपना, विद्यार्थीको उद्देश्य र देशको आवश्यकता परिपूर्ति गर्न सेन्ट लरेन्स सधैँ सफल भएको उनको दाबी थियो। वर्षौँ देखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा प्रवेश गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने भन्दै उनले सबैलाई कार्यक्रममा स्वागत गर्दै औपचारिक कार्यक्रम समापन गरे।

औपचारिक कार्यक्रम समापन पश्चात् सेन्ट लरेन्सका विद्यार्थीका प्रतिभाले भरिपूर्ण मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यार्थीहरूका गायन, नृत्य लगायतका प्रतिभाहरू मनमोहक देखिन्थ्यो।
