Matra Education आइतबार, साउन १० २०८३

सूचना प्रविधिमार्फत दिगो वित्तीय व्यवस्थापनबारे राष्ट्रिय सम्मेलन सम्पन्न

सूचना प्रविधिमार्फत दिगो वित्तीय व्यवस्थापनबारे राष्ट्रिय सम्मेलन सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, असार २२ २०८३


काठमाडौँ– ललितपुरस्थित एकेडेमिया इन्टरनेसनल कलेजले सूचना प्रविधिमार्फत दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।

कलेजको अनुसन्धान व्यवस्थापन शाखाले आयोजना गरेको सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। कलेजले पहिलो पटक आयोजना गरेको यस राष्ट्रिय सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, विशाल तथ्याङ्क विश्लेषण, वित्तीय प्रविधि, साइबर सुरक्षा, डिजिटल शासन तथा दिगो वित्तीय व्यवस्थापनका विविध विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रमको उद्घाटन अमेरिकास्थित क्रिस्टोफर न्यूपोर्ट विश्वविद्यालयका प्राध्यापक डा. ज्ञान प्रधान, ललितपुर महानगरपालिका–७ का अध्यक्ष कुलबहादुर महर्जन तथा कलेजका पदाधिकारीहरूको उपस्थितिमा गरिएको थियो। उद्घाटनका क्रममा अनुसन्धान व्यवस्थापन शाखाका प्रमुख डा. राजन बिलास बज्राचार्यले अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनाको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउँदै सूचना प्रविधि र दिगो वित्तीय व्यवस्थापनको समायोजन आजको आवश्यकता रहेको धारणा राखे।

सम्मेलनमा डिजिटल रूपान्तरण, दिगो वित्तीय प्रणाली, डिजिटल शासन, लगानी व्यवहार, सहकारीको वित्तीय दिगोपन, हरित वित्त, साइबर सुरक्षा, अनलाइन शिक्षा, कृत्रिम बुद्धिमत्ताको नैतिक प्रयोग, शेयर बजार, डिजिटल वित्तीय साक्षरता लगायतका विषयमा २० वटा अनुसन्धान पत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनले सूचना प्रविधि, वित्तीय व्यवस्थापन, अनुसन्धान तथा नवप्रवर्तनलाई एकै मञ्चमा जोड्दै दिगो विकासका लागि आवश्यक नीतिगत बहस, शैक्षिक सहकार्य र अनुसन्धान संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड