Matra Education बुधबार, कार्तिक ११ २०८३

सिनेटर पौडेल बने पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि पहिलो आवेदक, सुधारको प्रस्ट खाका प्रस्तुत

सिनेटर पौडेल बने पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि पहिलो आवेदक, सुधारको प्रस्ट खाका प्रस्तुत

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन १ २०८०


काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयका सिनेटर समेत रहेका तोया नारायण पौडेल पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने पहिलो आवेदक बनेका छन्। हाल पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको प्राचार्य रहेका पौडेलले विश्वविद्यालय सुधारको प्रस्ट कार्ययोजना सहित आवेदन दिएका छन्।

वि सं २०५६ साल देखि अनवरत शिक्षा क्षेत्रमा क्रियाशील पौडेलले नेपालको इन्जिनियरिङ, साइन्स एन्ड टेक्नोलोजी शिक्षणमा सुधारको लागि काम गर्दै आएका छन्। त्यस्तै पछिल्लो समय व्यवस्थापन संकायलाई समेत समेटेर उनले नेपालको परीक्षा र मुल्यांकन प्रणाली सुधार गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। कम्तीमा स्नातक तह सम्म नेपालमै अध्ययन गर्नुपर्छ भन्ने अभियानमा क्रियाशील पौडेल अबको शिक्षा सिपमूलक र जीवनोपयोगी हुनुपर्ने धारणा राख्छन्।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति तपाईँ बन्नुभएमा विश्वविद्यालयमा के गर्ने योजना छ ? भन्ने मात्र एजुकेसनको प्रश्नमा पौडेल भन्छन् ,”मैंले विश्वविद्यालय सुधारको आवाज बाहिर बाट धेरै उठाएँ। कराएर मात्रै हुँदैन, अवसर पाए गरेरै देखाउनुपर्छ भन्ने मेरो निष्कर्ष रह्यो र मैंले उपकुलपतिका लागि आवेदन दिएको हुँ। मेरा योजनाहरू सोध्नुहुन्छ भने मैंले सबैभन्दा पहिलो प्राथमिकता परीक्षा प्रणाली स्वचालित बनाउनुपर्छ भन्ने छ। प्रविधिको प्रयोग गरेर हाल परीक्षा सम्बन्धी देखिएको समस्या समाधान गर्न सकिन्छ। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको जग्गा रहेको ठाउँ (मोरङको गोठगाउँ) मा मेडिकल, कृषि र इन्जिनियरिङको स्नातक तह सबै सुविधा सहित सञ्चालन गर्न सकिन्छ। विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरूलाई प्रभावकारी बनाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू आकर्षित गरेर आर्थिक क्षमता बढाउन सकिन्छ। हाम्रो पाठ्यक्रमलाई अद्यावधिक गरेर पछिल्लो समयको माग र आवश्यकता सुहाउँदो बनाउन सकिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘फ्याकल्टी एन्ड स्टुडेण्ट एक्सचेन्ज’ कार्यक्रम सञ्चालन गर्न सकिन्छ।” पौडेलले यस बाहेक पनि आफ्ना थुप्रै योजनाहरू रहेको र त्यसलाई कार्ययोजना बनेर आवेदन साथ बुझाएको उल्लेख गरे। उनले आफू “हाम्रो विश्वविद्यालय हामी आफै बनाउँछौँ ” भन्ने अभियानमा रहेको हुँदा आफू उपकुलपति भए गरेर देखाउने, नभए आउने उपकुलपतिलाई साथ, सहयोग र सुझाव दिएर राम्रो विश्वविद्यालय बनाउन आफू लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे।

आवेदन दिने क्रम जारी रहेकाले कति आवेदन पर्छ भन्ने हाल यकिन छैन। आवेदन दिने समय सकिएपछि समितिले आवेदकहरू मध्य बाट अल्पसुची प्रकाशन गर्नेछ। उक्त सूचिमा परेकाहरूले सोचपत्र तथा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने छ। यो सबै प्रक्रिया पुरा भएपछि समितिले विश्वविद्यालयका कुलपति समक्ष योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ।

पौडेललाई नजिक बाट चिन्नेहरू र शिक्षा क्षेत्र बुझेकाहरू उनी उपकुलपतिका लागि बलियो दाबेदार रहेको बताउँछन्। पौडेल जस्ता निष्ठावान् व्यक्तिले उक्त जिम्मेवारी पाए विश्वविद्यालयका अपेक्षित सुधार हुने उनीहरूको विश्वास छ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि १५ दिनको समय दिएर माघ २३ गते दरखास्त आव्हान गरेको थियो । यो समितिमा शिक्षामन्त्री संयोजक, राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य रहेका छन्।

पौडेल सँग लिइएको भिडियो अन्तर्वार्ता हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड