Matra Education आइतबार, साउन १० २०८३

सन्तति आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

सन्तति आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, जेष्ठ ३० २०८३


भक्तपुर— भक्तपुर नगरपालिका–९, सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले विद्यार्थीको समग्र शैक्षिक विकासमा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताए। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले निरन्तर लगानी तथा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक शिक्षक तथा जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतले नेपाल सरकारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रम विद्यार्थीका लागि प्रेरणादायी रहेको बताए। उनले विद्यार्थी सङ्ख्या वृद्धि तथा शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग गरिरहेको उल्लेख गरे। साथै, सामुदायिक विद्यालयले विभिन्न पृष्ठभूमिका विद्यार्थीलाई अवसर प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए।

विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको शैक्षिक उपलब्धि सुधारमा शिक्षक, अभिभावक, वडा कार्यालय तथा भक्तपुर नगरपालिकाको महत्वपूर्ण सहयोग रहेको बताए। उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक सीप र अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउन आग्रह गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सम्झना प्रेमी र रेखा श्रेष्ठ, शिक्षकद्वय जगन्नाथ डुम्रे र कृष्णमाया बस्नेत तथा छात्रा निशिका खत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रमका अवसरमा ५५ जना छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो भने विद्यालयमा भर्ना भएका ५० जना नयाँ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए।

विद्यालयका अनुसार चालु शैक्षिक सत्रको जेठ महिनासम्म विद्यालयमा कुल १९५ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड