काठमाडौँ- गोकर्णेश्वर-४, उत्तरबाहिनीमा रहेको शुभकामना स्कुलले ७ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो।
शुभकामना स्कुल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्व तथा बागमती प्रदेशका सभासद् विमल ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ४ का अध्यक्ष जयराम महत विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अन्य जनप्रतिनिधिहरू तथा विभिन्न क्षेत्र स्थापित व्यक्तित्वहरू अतिथिका रूपमा रहँदा स्कुलका अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै शुभकामना स्कुलकी प्रधानाध्यापक सुमित्रा धिमालले सबैको साथ र सहयोगका कारण विद्यालय आजको स्थान सम्म आइपुग्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरिन् । उनले अभिभावकहरूको निरन्तरको पृष्ठपोषणले विद्यालय सही बाटोमा अघि बढिरहेको भन्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि विद्यालय, अभिभावक र विद्यार्थी तिनै पक्षले भूमिका खेल्नुपर्ने धारणा राखिन्।
अभिभावकका तर्फबाट आफ्नो धारणा राख्दै विद्यालयका अभिभावक शिवहरी श्रेष्ठले शुभकामना स्कुल आइसकेपछि आफ्नी छोरीमा आएको परिवर्तनले चकित भएको बताए । उनले लजालु र नबोल्ने स्वभावकी आफ्नी छोरी विद्यालयमा आएर आत्मविश्वासी र साहसी भएको बताए। आफूले केही वर्ष अघि छोरीलाई अर्को स्कुल लगेको तर छोरीले नमानेपछि पुनः फर्काएर शुभकामना स्कुलमै ल्याएको स्मरण गर्दै उनले अभिभावकका रूपमा आफू पूर्ण सन्तुष्ट रहेको जनाए। उनले विद्यालयको अझै धेरै प्रगतिको कामना गरे।
कार्यक्रमका विशेष अतिथि महतले शुभकामना स्कुल आफ्नो घरकै अगाडी रहेको उल्लेख गर्दै विद्यालयको दैनिक गतिविधि सँग आफू परिचित रहेको बताए। उनले विद्यालय आफ्नो उद्देश्य पूरा गर्न सफल रहेको भन्दै साना बालबालिकाहरूको भविष्यको जग हाल्ने काममा शुभकामना स्कुलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भनाई राखे। आफूले विद्यालयको सबै क्रियाकलाप नजिक बाट नियालिरहेको भन्दै उनले अभिभावकलाई विद्यालयमा के भयो, कसो भयो भनेर कुनै चिन्ता नलिन उनले अनुरोध गरे। महतले आगामी वर्ष देखि विद्यालयमा पाँच कक्षा सुरु हुन लागेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठकुरीले सरस्वती पूजाको पूर्व सन्ध्यामा सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै विद्यालय प्रशासन र शिक्षकहरूलाई धन्यवाद दिए। उनले विद्यालयको नाम जस्तै हरेक अभिभावकको शुभकामना रहने हो भने विद्यालयले अझै धेरै प्रगति गर्ने बताए। विद्यालयका सञ्चालक प्रकाश अधिकारीको व्यक्तित्व माथि चर्चा गर्दै उनले शिक्षा क्षेत्रमै आफ्नो जीवन समर्पित गरेको शिक्षकले चलाएको स्कुल कहिल्यै असफल नहुने धारणा राखे। अधिकारीले आफू बस्ने टोलको सुधारमा पनि उल्लेखनीय योगदान दिएको चर्चा गर्दै उनले संस्कार सहितको शिक्षा दिने र साना बालबालिकाहरूको भविष्य निर्माण गर्ने अभियानमा समेत त्यस्तै सफलता मिलोस् भन्ने कामना गरे।
कार्यक्रममा शुभकामना स्कुलका विद्यार्थीहरूको प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू देखाइएको थियो। साना बालबालिकाहरू मञ्चमा प्रस्तुति दिइरहँदा उनीहरूको गायन, नृत्य, वाद्यवादन आदि प्रतिभा लोभलाग्दो देखिन्थ्यो। आफ्ना छोराछोरीले वर्ष भर सिकेर मञ्चमा दिएको प्रस्तुति हेर्दा अभिभावकहरू मोहित देखिन्थे।
कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अधिकारीले कार्यक्रमले बालबालिकाहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको बताए। विद्यालय स्थापना गर्दाको समय स्मरण गर्दै उनले विद्यालयकी प्रधानाध्यापक र शिक्षक/कर्मचारीहरूको मेहनतका कारण आज सफलताको बाटोमा विद्यालय अगाडी बढेको उनले उल्लेख गरे। बालमैत्री कक्षा कोठा, पढाई सँगै खेलकुद, बालबालिकाहरूलाई स्वस्थ खाना र व्यक्तित्व विकासको अवसर शुभकामना स्कुलको विशेषता भएको उल्लेख गरेका उनले विद्यालय यस वर्ष अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न समेत सफल भएको र त्यसको लाभ विद्यार्थीहरूले पाउने बताए । उनले हालसम्मको साथ सहयोगका लागि सबैलाई धन्यवाद दिँदै त्यस्तै साथ सहयोग आगामी दिनमा पनि पाउने विश्वास व्यक्त गरे। आगामी सरस्वती पूजामा विशेष छुट सहित भर्नाको व्यवस्था रहेको जानकारी गराएका उनले प्रसाद ग्रहणका निम्ति सबै अभिभावकहरूलाई आमन्त्रण गर्दै कार्यक्रम अन्त्य भएको घोषणा गरे।
कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।