काठमाडौँ- सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै आयोगको सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
अध्यक्षमा नियुक्त भएका डा. लम्साल नेपाल सरकारका पूर्व सचिव हुन्। शिक्षा प्रशासन तथा सार्वजनिक सेवाको क्षेत्रमा लामो अनुभव रहेका उनलाई सरकारले शिक्षक सेवा आयोगको नेतृत्वको जिम्मेवारी दिएको हो।
शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि शिक्षक छनोट, अध्यापन अनुमति पत्र तथा शिक्षकसम्बन्धी विभिन्न प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आयोगको नयाँ नेतृत्वसँगै शिक्षक छनोट तथा व्यवस्थापनसम्बन्धी कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबिच, आजकै मन्त्रिपरिषद् बैठकले दुई कर्मचारीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। लोकसेवा आयोगको सिफारिस तथा वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गरिएको हो।