Matra Education आइतबार, साउन १० २०८३

वक्तृत्वकला प्रतियोगितामा रिलायन्सको दबदबा, प्रथम र द्वितीय दुवै स्थान ओगट्न सफल

वक्तृत्वकला प्रतियोगितामा रिलायन्सको दबदबा, प्रथम र द्वितीय दुवै स्थान ओगट्न सफल

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ २० २०८३


काठमाडौँ- बुढानीलकण्ठ नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्वितीय दुवै स्थान हासिल गरेका छन्।

कपन अनलाइनको आयोजना तथा टेक्सास इन्टरनेसनल कलेजको प्रायोजनमा सम्पन्न  ‘टेक्सास टपर्स टक स्पिच कम्पिटिसन’ मा काठमाडौँ जिल्लाका ३५ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। “शैक्षिक विकासमा एआईको महत्त्व” विषयमा आयोजित प्रतियोगितामा रिलायन्स को–एड स्कुलकी छात्रा ओजस्विनी राज्यलक्ष्मी शाह प्रथम हुन सफल भइन् भने रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा सम्पदा काफ्ले द्वितीय स्थानमा रहिन्।

प्रतियोगितामा प्रथम हुने ओजस्विनीले नगद ९ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् भने द्वितीय हुने सम्पदाले नगद ६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्। ३५ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गतका दुई विद्यालयले शीर्ष दुई स्थान हासिल गरेपछि नेटवर्कको शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिमा रहेको प्रभाव थप उजागर भएको छ।

प्रतियोगितामा प्राप्त सफलताप्रति रिलायन्स को–एड स्कुलले खुसी व्यक्त गर्दै ओजस्विनी राज्यलक्ष्मी शाहलाई बधाई ज्ञापन गरेको छ। विद्यालयले उनको तयारीमा सहयोग पुर्‍याउने शिक्षक–शिक्षिका, सेन्ट्रल  इसिए/सिसिए टिम तथा सम्पूर्ण रिलायन्स एजुकेसन नेटवर्क परिवारप्रति आभार व्यक्त गरेको छ।

त्यसैगरी, दोस्रो स्थान हासिल गर्न सफल रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा सम्पदा काफ्लेलाई समेत विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड