काठमाडौँ– यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मानबाट भुवनहरि सिग्देल र रिलायन्स युवा प्रतिभा सम्मानबाट कवि मनोज भण्डारी सम्मानित भएका छन्। रिलायन्स साहित्य समाजले ११६ औँ लक्ष्मी जयन्तीको अवसरमा शनिवार आयोजना गरेको कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रममा यी दुई व्यक्तित्वलाई सम्मान गरिएको हो। रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गत संस्कृति विभागमा आबद्ध समाजले हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा यो कार्यक्रम आयोजना गर्दै आएको छ। सम्मानबाट अघिल्ला वर्षहरूमा पनि थुप्रै दिग्गज साहित्यकारहरू सम्मानित भइसकेका छन्।
वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले नेपाली साहित्यमा कवि तथा आख्यानकारका रूपमा दिएको उल्लेखनीय योगदानका लागि रु २५,००५ राशिको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। त्यस्तै प्रखर युवा कवि मनोज भण्डारीले आफ्ना रचनामार्फत फरक शैलीमा साहित्यिक चेतना प्रवाहित गरेको र उदीयमान युवा प्रतिभा भएकाले रु ११,००५ राशिको रिलायन्स युवा प्रतिभा सम्मान प्रदान गरिएको हो।
शनिवार कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजित यो महत्त्वपूर्ण कार्यक्रमको साक्षी बन्न नेपाली भाषा-साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका व्यक्तित्वहरू उपस्थित थिए। कार्यक्रमको सभापतित्व रिलायन्स शैक्षिक प्रतिष्ठानका सञ्चालक सदस्य तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक खेमलाल भुसालले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. माधव प्रसाद पोखरेल रहेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार कलानिधि दाहाल, कवि बलराम दाहाल, त्रिलोचन आचार्य, निबन्ध आचार्य, पवित्रा पोखरेल तथा अन्य स्थानीय साहित्यकारहरू अतिथिका रूपमा उपस्थित थिए।
रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जंग थापा, सञ्चालक सदस्य राजुकुमार सिवाकोटी, रिलायन्स साहित्य समाजका अध्यक्ष तथा रिलायन्स शैक्षिक प्रतिष्ठानका सञ्चालक सदस्य दामोदर निरौला लगायत नेटवर्क अन्तर्गतका विद्यालयहरूका प्रधानाध्यापक, संयोजक, शिक्षक, विद्यार्थीहरू, रिलायन्स साहित्य समाजका पदाधिकारीहरूको समेत उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा कवि बलराम दाहालले सम्मानित स्रष्टा भुवनहरि सिग्देलको व्यक्तित्व र नेपाली साहित्यमा उनको योगदानको चर्चा गर्दै सिग्देलको कवि र आख्यानकारका रूपमा विशेष स्थान रहेको बताए। साथै उनले युवा कवि मनोज भण्डारीको साहित्यिक यात्रा र खारिएको सिर्जनालाई प्रशंसा गर्दै उनको काव्य चेतनाको प्रशंसा गरे।
साहित्यकार भुवनहरि सिग्देलले सम्मान ग्रहण गर्दै रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स साहित्य समाजले प्रदान गरेको सम्मानले आफूलाई साहित्यिक यात्रामा अझै प्रेरणा मिलेको बताए। उनले विद्यालय र साहित्य समाजको यस योगदानप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. माधव प्रसाद पोखरेलले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूको महत्त्व र विद्यार्थी वर्गमा त्यसले पारेको सकारात्मक प्रभावको चर्चा गरे। उनले बर्सेनि आयोजित वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीमा देवकोटाको साहित्यप्रति रुचि जगाउने र अध्ययनमा सहभागिता बढाउने विश्वास व्यक्त गरे। साथै उनले विद्यालयहरूले आयोजना गर्ने यस्ता रचनात्मक साहित्यिक कार्यक्रमहरूले भाषा-साहित्यको उत्थानमा साहित्यकारहरूलाई थप प्रेरित गर्ने बताए।
वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मानबाट विभिन्न व्यक्तित्वहरू सम्मानित भइसकेका छन् । काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति हरेक वर्षको कार्यक्रममा रहने गरेको छ।
प्रसिद्धिका रुपाखेतीले जितिन् वक्तृत्वकलाको उपाधि
शनिवारको कार्यक्रममा १५ औँ रिलायन्स देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पनि गराइएको थियो। यसअघि शुक्रवार पहिलो चरणको प्रतिस्पर्धाबाट छनोट भएका पाँच विद्यार्थीबिच अन्तिम चरणको प्रतिस्पर्धा भएको हो।
‘महाकवि देवकोटाको के नेपाल सानो छ ? निबन्ध बाट नयाँ पुस्ताका नेपालीले लिनुपर्ने प्रेरणा’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा टाइमलाइन स्कुल जोरपाटीकी प्रसिद्धिका रुपाखेती प्रथम, महेश संस्कृत गुरुकुलम देवघाटका प्रतिक बडाल द्वितीय र नेपाल वेद विद्याश्रमका सदस्य गौतम तृतीय भए। रिपुमर्दनी सैनिक महाविद्यालयकी मेलिशा कार्की र जुगल नव गुरुकुलकी सन्ध्या गौतमले प्रोत्साहन पुरस्कार पाउन सफल भए।
आयोजकले विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरेको छ।
कार्यक्रमका थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।