काठमाडौँ- रिलायन्स पब्लिक स्कुलको आयोजना तथा संघिय बहसका लागि युवा नामक गैरसरकारी संस्थाको सहयोगमा रिलायन्स पब्लिक नमुना स्थानीय सभा २०८० सम्पन्न भएको छ। गत माघ २४ गते देखि २९ गतेसम्म सञ्चालित कार्यक्रममा रिलायन्स पब्लिक स्कुलमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए।
माघ २४ गते उद्घाटन गरिएको कार्यक्रमको २९ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै समापन गरिएको थियो। सहभागीहरू २४ र २५ गते कार्यशाला (वर्कसप) मा सहभागी भएका थिए। उक्त दुई दिन सहभागीहरूले राज्यको संरचना, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका काम, कर्तव्य र अधिकार क्षेत्र, संघिय शासन व्यवस्था, संविधान, कानुन लगायत स्थानीय सरकार सञ्चालन प्रक्रिया, त्यसले गर्न सक्ने आर्थिक, सामाजिक, न्यायिक, राजनैतिक कार्यहरू लगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त गरेका थिए।
त्यस्तै माघ २८ र २९ गते नमुना सभाको आयोजना गरी कार्यक्रममै मतदान मार्फत मेयर, उपमेयर तथा सचिवको चयन गरिएको थियो।विद्यार्थीहरूलाई आर्थिक समिति, विधान समिति, विकास समितिका रूपमा विभाजन गरी नगर सभा सदस्यको रूपमा विभिन्न विधेयक निर्माण, आवश्यक संशोधन तथा पास गर्ने जस्ता प्रक्रिया प्रयोगात्मक रूपमै अभ्यास गराइएको थियो।
२९ गते नै आयोजित समापन कार्यक्रमको अध्यक्षता रिलायन्स शैक्षिक सञ्जालका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाले गरेका थिए। बागमती प्रदेशका सभासद् श्रीराम लामिछाने प्रमुख अतिथि रहेको उक्त समारोहमा रिलायन्स शैक्षिक सञ्जालका कार्यकारी निर्देशक तथा वरिष्ठ चार्टड एकाउन्टेन्ट राजु कुमार सिवकोटि र बुढानीलकण्ठ नगरपालिका वडा न १० का अध्यक्ष नवराज भट्टराई विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा संघिय बहसमा युवा कार्यक्रममा श्रोत व्यक्ति तथा संस्थाका संस्थापकहरूको समेत उपस्थिति थियो ।
रिलायन्स पब्लिक स्कुलका प्राचार्य वसन्तलाल लामिछानेको स्वागत मन्तव्य सँगै सुरु भएको समापन समारोहमा बोल्दै कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरूले दिगो सिकाइका लागि विद्यालयले गरेको प्रयासका लागि सम्पूर्ण आयोजकहरूलाई बधाई तथा धन्यवाद दिए । वक्ताहरूले कार्यक्रममा विद्यार्थी तथा आयोजकले उठाएको जिज्ञासाको समेत जबाफ दिएका थिए ।
कार्यक्रममा विभिन्न विषयगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई प्रमाणपत्र तथा मेडल लगाइदिएर सम्मान गरिएको थियो । ५ जना विद्यार्थीले विशिष्ट अनुसन्धानकर्ता, ६ जनाले विशिष्ट सहभागी तथा ५ जनाले उत्कृष्ट प्रस्तुतिका लागि पुरस्कार प्राप्त गरे।