काठमाडौँ- कपनस्थित रिलायन्स पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) ब्याच २०८२ का विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । चाबहिल स्थित स्मार्ट प्यालेसमा शनिवार आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको हो ।
यस वर्ष एसइईमा सहभागी ५५ विद्यार्थीमध्ये ३ जनाले ४.० जिपिए ल्याएका छन् भने अन्य विद्यार्थीहरूले समेत उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयले यसलाई विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक मेहनतको परिणाम भएको जनाएको छ ।
रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा शिक्षाविद् पुरुषोत्तम दाहाल रहेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक वसन्त लाल लामिछानेले सफलता सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि दाहालले विद्यार्थीहरूलाई जिम्मेवार, आत्मविश्वासी र लक्ष्यप्रति स्पष्ट भएर अघि बढ्न आग्रह गरे ।
सभापति थापाले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र व्यवहारिक सिकाइमार्फत निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए । कार्यक्रममा ४.० जिपिए ल्याउने विद्यार्थीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो भने अन्य विद्यार्थी तथा अभिभावकलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहेका थिए। कार्यक्रम बाटै विद्यालयले डिजिटल र आधुनिक शिक्षण प्रणालीमार्फत आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।