काठमाडौँ- कपनस्थित रिलायन्स को-एड स्कुलले एसइई सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। सोमबार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित ‘११औँ एसइई फेलिसिटेसन तथा फेयरवेल कार्यक्रम–२०८३’ मार्फत विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गरेको हो।
विद्यालयका अनुसार यस वर्ष एसइई परीक्षामा सहभागी ७५ जना विद्यार्थीमध्ये प्रेरक बुढापृथी र उमंग कटुवालले ४ जिपिए प्राप्त गरेका छन्। दुवै विद्यार्थीलाई जनही रु १० हजार १०५ नगद, प्रशंसा पत्र तथा विशेष सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ। अन्य सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो र ग्र्याजुएसन ह्याट प्रदान गरिएको थियो।
रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार, मानवअधिकारकर्मी तथा राजनीतिक विश्लेषक प्राध्यापक पुरुषोत्तम दाहाल प्रमुख अतिथिका रूपमा रहेका थिए। प्रमुख अतिथि दाहालकी धर्मपत्नी तथा नेपालकै पहिलो महिला कलेजो दाता शान्ता दाहाल र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत सञ्चालित विद्यालय तथा कलेजका बोर्ड अफ डाइरेक्टर्स, प्रिन्सिपल, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दशरथ ज्ञवालीले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण, अभिभावकहरूको विश्वास र विद्यालयको निरन्तर प्रयासका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए। विद्यार्थीहरू सफल मात्र नभई जिम्मेवार र असल नागरिक बन्नुपर्नेमा उनले जोड दिए।
विशेष अतिथि भट्टराईले विद्यालयले हासिल गरेको शैक्षिक सफलता बुढानीलकण्ठ नगरपालिकाकै गौरवको विषय भएको बताए। रिलायन्सका विद्यार्थीहरू अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय र सक्षम रहेको उनको भनाइ थियो।
प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहालले छोटो अवधिमै रिलायन्सले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै विद्यालयलाई देशकै अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा चित्रण गरे।
कार्यक्रमका सभापति थापाले एसइई जीवनको एउटा महत्त्वपूर्ण चरण मात्र भएको उल्लेख गर्दै आगामी शैक्षिक यात्राका लागि विद्यार्थीहरूलाई शुभकामना दिए। उनले रिलायन्सले शिक्षा सँगै संस्कार, अनुशासन, प्रतिभा विकास र जीवनोपयोगी सीपमा विशेष जोड दिँदै आएको बताए।