काठमाडौँ- कपनको मिलनचोक स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले एसइई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिवार राम नगर पार्टी प्यालेसको हलमा आयोजित एक भव्य कार्यक्रमका बिच स्कुलले २०८० सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मानित गरेको हो। विद्यालयले उक्त परीक्षामा ४ जिपिए सहित उत्कृष्ट नतिजा हासिल गरेको थियो।
रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल रहेका थिए। प्रमुख अतिथि दाहालकी धर्मपत्नी तथा नेपालकै पहिलो महिला कलेजोदाता शान्ता दाहाल र बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराई विशेष अतिथि रहेको कार्यक्रममा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्यहरू, शिक्षक/शिक्षिका, कर्मचारीहरू, शुभचिन्तकहरू तथा रिलायन्सका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
आधुनिक शिक्षा सँगै संस्कार र संस्कृतिको ज्ञानलाई सधैँ प्राथमिकतामा राख्दै आएको रिलायन्स एजुकेसन नेटवर्कले सधैँ झैँ कार्यक्रमलाई २ मिनेटको ध्यान बाट सुरु गरेको थियो। रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका संस्कृति विभाग प्रमुख दामोदर निरौलाले पूर्वीय संस्कृति र ध्यानको महत्त्व बारे चर्चा गर्दै उपस्थित सबैलाई ध्यानमा सरिक गराएका थिए। रिलायन्सले हरेक दिन कक्षा सुरु हुनु अघि २ मिनेट ध्यान गराउने गरेको उनले जानकारी दिए।
कार्यक्रम सञ्चालक तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका इसिए/सिसिए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेलले विद्यालय बारे जानकारी गराउँदै रिलायन्सको गर्विलो इतिहासका बारेमा जानकारी गराए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक खेमलाल भुसालले रिलायन्स इन्टरनेसनल एकेडेमी विकासक्रम सँगै अन्य ६ वटा शैक्षिक संस्थाहरूको जननी संस्थाका रूपमा रहेको बताउँदै अनुशासित, शिक्षित र मर्यादित विद्यार्थी निर्माणका लागि सधैँ अग्रसर भई विद्यालयले संस्कृतिमा आधारित प्रगतिशील विद्यालयको रूपमा परिचय बनाउँदै आएको बताए।
उनका अनुसार वि.सं.२०७० सालमा एसएलसी दिने ५ लाखभन्दा बढी विद्यार्थीहरूको बिचमा सर्वोत्कृष्ट विद्यार्थीको रूपमा नेपाल प्रथम भएको विद्यालय २०७५ सालको एस.इ.इ. परीक्षामा ५० जनाभन्दा बढी विद्यार्थीहरू समावेश गराउने संस्थागत विद्यालय तर्फ पनि उत्कृष्ट नतिजाको आधारमा राष्ट्रमै प्रथम स्थान हासिल गरी नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय सरकारबाट पुरस्कृत एवं सम्मानित भएको थियो। त्यस्तै २०७९ सालको एसइई नतिजामा समेत संस्थागत विद्यालयहरू तर्फ पुनः प्रथम स्थान हासिल गर्दै बागमती प्रदेश सरकारबाट पुरस्कृत र सम्मानित भएको थियो। भुसालले विद्यालयको गौरवमय इतिहासलाई निरन्तरता दिँदै यस वर्ष प्रकाशित एसइई २०८० को नतिजामा पनि राष्ट्रकै सर्वोत्कृष्ट बन्न सक्ने बलियो सम्भावना देखिएको बताए ।
कार्यक्रममा रिलायन्स सञ्चालक समितिका तर्फबाट शुभकामना दिँदै रिलायन्सका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले अभिभावकको विश्वासका कारण सफल हुन सकेको भन्दै उत्कृष्ट नतिजाका लागि बधाईको ठुलो हकदार अभिभावक भएको बताए । उनले उत्कृष्ट नतिजा सहित परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिए। सिवाकोटीले प्लस टु अध्ययनका लागि विषय छनोट, शैक्षिक संस्था छनोट, भविष्यको तयारी लगायत बारे महत्त्वपूर्ण सुझावहरू समेत दिए।
एसइई उत्तीर्ण गरेका १०८ जना विद्यार्थीहरूलाई सम्मान गरेको विद्यालयले उक्त अवसरमा ४ जिपिए ल्याउन सफल ५ जना विद्यार्थीलाई रु १०,००० नगद सहित सम्मान गरेको थियो। सँगै शिक्षक/शिक्षिका, विभिन्न विभागका विभाग प्रमुखहरू तथा महत्त्वपूर्ण योगदान गर्ने विद्यालय परिवारका अन्य सदस्यहरू समेत उक्त अवसरमा सम्मानित भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि दाहालले उत्कृष्ट नतिजा प्राप्त गरेकोमा सबैलाई बधाई दिँदै सुखद भविष्यको कामना गरे। अभिभावकहरूलाई विशेष बधाई दिएका उनले आज देखिएको नतिजा अभिभावकको परिश्रमको समेत नतिजा भएको उल्लेख गरे। रिलायन्स पब्लिकले छोटो समयमा महत्त्वपूर्ण सफलता हात पारेको बताएका उनले रिलायन्स एजुकेसन नेटवर्कले आफू वरपरको समुदायको नै पहिचानमा परिवर्तन ल्याएको धारणा राखे। नेपालको उत्कृष्ट पाँच भित्र पर्ने संस्था भएकाले आफूले जहाँ जाँदा पनि रिलायन्सको कुरा गर्ने गरेको भन्दै दाहालले संस्कृतिको सन्दर्भमा र ध्यानका लागि रिलायन्सले गरेको प्रयास सराहनीय भएको बताए। वेद र पूर्वीय संस्कृतिको महत्वको चर्चा गरेका उनले कक्षा १० पास गरेपछि अझै चुनौती बढ्ने भन्दै विद्यार्थीहरूलाई जीवनको यात्रामा सफल हुन शुभकामना समेत दिए ।
कार्यक्रमका सभापति थापाले २४ औँ एसइई ब्याचको बिदाइ कार्यक्रम भएकाले पनि कार्यक्रम विशेष रहेको बताए। १३ वर्षको लगानीको प्रतिफल प्राप्त गरेको भन्दै विद्यार्थीहरूलाई बधाई दिएका उनले बधाई दिन मात्रै नभएर आगामी मार्गमा समेत प्रोत्साहन मिलोस् भन्नका लागि कार्यक्रम राखिएको जानकारी गराए। जीवनमा यो परीक्षाको सुरुवात मात्रै भएको र अझै ठुला परीक्षाहरू बाँकी रहेको उल्लेख गरेका उनले विद्यार्थीहरूले जीवनमा धेरै कुरा देख्न र सिक्न बाँकी रहेको बताए। अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन अझ ठुलो बधाईका हकदार रहेको बताउँदै उनले आजसम्म ३९७ जना विद्यार्थी रिलायन्स पब्लिक बाट दीक्षित भएको जानकारी दिए। नेटवर्क भर एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिएको हुँदा ७० को दशक रिलायन्सका लागि विशेष भएको बताएका उनले शैक्षिक क्रियाकलाप, प्रतिभा विकास, संस्कार र जीवनोपयोगी सीप ४ कुरामा रिलायन्सको मुख्य जोड रहेको भनाइ राखे। एसइई पछिको शिक्षा बारे महत्त्वपूर्ण सुझावहरू विद्यार्थीलाई दिँदै थापाले कार्यक्रम समापनको घोषणा गरे।