Matra Education सोमबार, साउन ११ २०८३

रिलायन्सले चौधौँ देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

रिलायन्सले चौधौँ देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर १२ २०८०


काठमाडौँ- राजधानीको प्रसिद्ध शैक्षिक समूह रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतको रिलायन्स साहित्य समाजले चौधौँ देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। यसअघि १३ औँ संस्करण सम्म उपत्यकाव्यापी प्रतियोगिता गरेर सफलतापूर्वक कार्यक्रम आयोजना गरिसकेको समाजले यसपटक राष्ट्रव्यापी प्रतियोगिता गर्न लागेको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रम आगामी मङ्सिर २९ र ३० गते गर्ने आयोजकको तयारी छ। सहभागीहरूले ‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा प्रतिस्पर्धा गर्नुपर्ने छ।

प्रतियोगितामा एउटा विद्यालय बाट कक्षा ९ देखि कक्षा १२ का एक जना मात्र छात्र/छात्राले भाग लिन पाउनेछन् भने मुल्यांकनका लागि आयोजकले स्वतन्त्र विद्वान् (भाषाविद् वा अध्यापकहरू) को तीन सदस्यीय निर्णायक मण्डल गठन गर्ने र उक्त निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले बताएको छ। आयोजक विद्यालय सहभागी नहुने उक्त प्रतियोगितामा वक्ताले कुनै पनि लेख, टिपोट, पाठ्य सामग्री आदि हेरेर बोल्न नपाउने नियम बनाइएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले आगामी २७ गते गते बुधवार भित्र रु. ५००।– तिरेर नाम दर्ता गराइ सक्नुपर्ने छ। दर्ता सहजताका लागि फोन मार्फत पनि गर्न सकिने व्यवस्था आयोजकले मिलाएको छ । दुई चरणमा सम्पन्न हुने कार्यक्रमको पहिलो दिन मङ्सिर २९ गते शुक्रवार सहभागी वक्ताहरू मध्येबाट उत्कृष्ट ५ जना छनोट गरिने र ती उत्कृष्ट पाँच वक्ताहरूले भोलिपल्ट शनिवार हुने बृहत् कवि गोष्ठीका सहभागी तथा विशिष्ट अतिथिहरू माझ अन्तिम प्रतिस्पर्धा गर्ने आयोजकको भनाई छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा सम्बन्धित विद्यालयलाई एक भव्य समारोहका बिच विशिष्ट अतिथिहरू बाट नगद पुरस्कार सहित आकर्षक शिल्ड/ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरिने र थप दुई वक्ताहरूलाई समेत प्रोत्साहन पुरस्कार तथा प्रमाणपत्र उपलब्ध गराउने आयोजकको तयारी छ । त्यस्तै अन्य सबै सहभागी वक्ता र विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र दिइनेछ ।

अन्य विस्तृत जानकारीका लागि सम्पर्क नं. ९८५१०८७६३५, ९८५१०१५०२४, ०१—४८१०५२९,४८११५५२ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड