Matra Education आइतबार, साउन १० २०८३

रिया आइडलको तेह्रौँ संस्करण सम्पन्न

रिया आइडलको तेह्रौँ संस्करण सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, पौस १४ २०८०


काठमाडौँ- रिलायन्स इन्टरनेसनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको रिया आइडल प्रतियोगिता यसवर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । नृत्य र गायन विधामा विगत तेह्र वर्षदेखि भव्य रुपमा आयोजना हुँदै आएको यस कार्यक्रमको तेह्रौ श्रृङ्खलामा नृत्य तर्फ २९ जना तथा गायन तर्फ २३ जना प्रतियोगीहरू अन्तिम प्रतिष्पर्धीका रुपमा सहभागी थिए ।

पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एवं गायक ठुले राईको प्रमुख आतिथ्य तथा विद्यालयका संस्थापक प्रिन्सिपल खेमलाल भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अंग्रेजी विभाग प्रमुख पुष्पा गुरुङले गर्नुभएको थियो । बिहान ११ बजे सुरु भई दिउँसो ४:०० बजे समापन भएको प्रतियोगितामा नृत्य तर्फ पूर्व प्राथमिक, प्राथमिक र माध्यमिक समूहअन्तर्गत तीन—तीन जना गरी ९ जना गायनतर्फ प्राथमिक र माध्यमिक समूहअन्तर्गत तीन—तीन जना गरी ६ जना सहित उत्कृष्ट १५ जना विद्यार्थीहरूलाई प्रमाणपत्र र ट्रफीद्वारा पुरस्कृत गरियो । रिलायन्स इन्टरनेसनल एकेडेमीले कला, साहित्य, खेलकुद आदि गतिविधिलाई पढाइकै अभिन्न अंगका रुपमा सञ्चालन गर्दै आएको छ ।

विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकासका लागि दर्जनौँ विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा कलेज सहायक प्रिन्सिपल नन्दु प्रसाद कुसवाहा, रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल वसन्तलाल लामिछाने, रिलायन्स को एडका प्रिन्सिपल दशरथ ज्ञवाली लगायतका व्यक्तिहरुले सहभागीहरुको हौसला बढाउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा विद्यार्थीको आन्तरिक प्रतिभाको प्रष्फुटन गराउन विद्यालयले यस्ता कार्यक्रमहरू आयोजना गर्नु अनुकरणीय र प्रशंसनीय भएको उल्लेख गर्दै प्रमुख अतिथि ठुले राईले २०७५ सालमा नेपाल प्रथम भएको प्रसंग जोड्दै पुरस्कृत विद्यार्थीहरूलाई बधाई र शुभकामना दिँदै आफ्ना केही चर्चित गीतहरू गाएर दर्शकहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि राईलाई विद्यालयका प्रिन्सिपलले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड