काठमाडौँ- २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठान, काठमाडौँ र रिभेरा इन्टरनेसनल एकेडेमी, चाबहिलको संयुक्त आयोजनामा अन्तर–विद्यालय आदिकवि भानुभक्त आचार्यका कविता कृति वाचन प्रतियोगिता सम्पन्न भएको छ।
गत बुधवार रिभेरा इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजित प्रतियोगितामा काठमाडौँ जिल्लाका २७ विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता भानु प्रतिष्ठानका अध्यक्ष डी. पी. अर्यालले गर्नुभएको थियो भने प्रमुख अतिथि भानु प्रतिष्ठानका संरक्षक तथा पूर्व अध्यक्ष प्रा. डा. व्रतराज आचार्य रहनुभएको थियो।
प्रतियोगितामा लेखक तथा साहित्यकार प्रा. डा. देवी नेपाल र डा. मधुसूदन लामिछाने निर्णायकको भूमिकामा रहनुभएको थियो। आयोजक विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा पिस पोइन्ट सेकेन्डरी स्कुलकी छात्रा दीपिका राई प्रथम भएकी थिइन्। विश्वज्ञान पाठशालाकी छात्रा सिम्रिका खड्का द्वितीय, कान्तिभैरव गुरुकुल विद्यालयका छात्र अभिनव आचार्य तृतीय, बेबिलोन नेशनल स्कुलकी छात्रा आशिका रावल चौथो तथा जगतमन्दिर स्कुलकी छात्रा विद्या कोइराला पाँचौँ भएका थिए।
विजयी विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, आयोजक विद्यालयका अध्यक्ष र प्रिन्सिपललगायतले संयुक्त रूपमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए। साथै भानु प्रतिष्ठानका उपाध्यक्ष रमेश सुभेच्छु र महासचिव पुरु लम्सालद्वारा लिखित पुस्तकहरू पनि पुरस्कार स्वरूप प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. व्रतराज आचार्यले आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका कवि मात्र नभई नेपाली जातिको एकताका प्रतीक भएको बताउनुभयो। अध्यक्ष डी. पी. अर्यालले भानुभक्त आचार्यको भाषिक योगदानबारे चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यक्रममा प्रा. डा. देवी नेपाल, डा. मधुसूदन लामिछाने, मणिपुर (भारत) का कवि दीपक पन्थ तथा युवा कवि सदाशय गौतमलगायतले कविता वाचन गर्नुभएको थियो।
उक्त कार्यक्रममा भानु प्रतिष्ठानका उपाध्यक्ष डा. रमेश सुभेच्छु, महासचिव पुरु लम्साल, आयोजक विद्यालयका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भट्टराई, जगतमन्दिर सेकेन्डरी स्कुलका प्रिन्सिपल राजन आचार्य, लाइसियम मोडेल स्कुलका प्रिन्सिपल राजेन्द्र थपलिया लगायतको उपस्थिति रहेको थियो।