काठमाडौँ- नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको राष्ट्रिय विद्यालय नवप्रवर्तन लिग (एनएसआईएल) सिजन–१ आयोजना हुने भएको छ। ‘कक्षाकोठाबाट विश्व मञ्चसम्म’ भन्ने नारासहित सञ्चालन हुन लागेको यस अभियानमार्फत देशभरका १० हजारभन्दा बढी विद्यार्थीलाई रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आइओटी) तथा नवप्रवर्तन सँग जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिद्वारा आयोजित प्रतियोगितामा कक्षा ३ देखि १० सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्। सिजन–१ का लागि साउन ११ गतेदेखि भदौ १६ गतेसम्म दर्ता खुला रहनेछ। भदौ महिनाभित्र सहभागी विद्यालयलाई इनोभेसन किट उपलब्ध गराइने र असोज ७ गतेदेखि प्रशिक्षण कार्यक्रम सुरु गरिने जानकारी दिइएको छ। क्षेत्रीय प्रतियोगिता मङ्सिर र पुस महिनामा आयोजना हुने तथा माघ महिनामा काठमाडौँमा राष्ट्रिय ‘ग्रान्ड फिनाले’ सम्पन्न गरिनेछ।
आयोजकका अनुसार पाँच महिनासम्म सञ्चालन हुने यस कार्यक्रमले नेपालका सातै प्रदेशका विद्यार्थीलाई नवप्रवर्तन, रोबोटिक्स, प्रोग्रामिङ, इलेक्ट्रोनिक्स तथा व्यवहारिक समस्या समाधानमा आधारित सिकाइसँग जोड्नेछ। प्रतियोगितामा विद्यार्थीहरूले दिगो विकास लक्ष्य (एमडीजी) सँग सम्बन्धित वास्तविक समस्याको समाधान गर्ने परियोजना तयार गरी प्रस्तुत गर्नेछन्।
प्रतियोगिता तीन तहमा सञ्चालन हुनेछ। कक्षा ३–५ का लागि ‘बेस क्याम्प लिग’, कक्षा ६–८ का लागि ‘एसेन्ट लिग’ र कक्षा ९–१० का लागि ‘समिट लिग’ रहनेछ। प्रत्येक तहका लागि छुट्टाछुट्टै परियोजना, इनोभेसन किट र मूल्याङ्कन प्रणाली तयार गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट टोलीहरू राष्ट्रिय ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् भने राष्ट्रिय विजेता टोलीले कुल ५ लाख रुपैयाँ बराबरको नगद पुरस्कार प्राप्त गर्नेछ। सहभागी विद्यालयलाई इनोभेसन किट, परियोजना मार्गदर्शन, विद्यार्थी कार्यपुस्तिका तथा शिक्षक र विद्यार्थीका लागि प्रशिक्षणसमेत उपलब्ध गराइनेछ। प्रतियोगितापछि पनि इनोभेसन किट विद्यालयमै रहने भएकाले दीर्घकालीन रूपमा स्टिम शिक्षा र नवप्रवर्तन प्रयोगशाला विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दूरशिक्षा एजुकेसन नेटवर्कका अनुसार संस्थाले नेपालभर स्टिम शिक्षाको प्रवर्द्धन गर्दै रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता, आइओटी, कोडिङ र डाटा विज्ञानमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले विद्यालय, कलेज, स्थानीय सरकार तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै भविष्यमुखी शिक्षाको विकासमा काम गरिरहेको जनाएको छ।