Matra Education आइतबार, साउन १० २०८३

मिस्टर एण्ड मिस मनास्लु, मनास्लु आइडल तथा मनास्लु डान्सिङ स्टारको अडिसन सम्पन्न

मिस्टर एण्ड मिस मनास्लु, मनास्लु आइडल तथा मनास्लु डान्सिङ स्टारको अडिसन सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, माघ १६ २०८०


काठमाडौँ- चुच्चेपाटी चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले आयोजना गर्न लागेको तिन ठुला प्रतियोगिताहरूको अडिसन सम्पन्न भएको छ। कलेजले आगामी फागुन ६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा ‘ग्राण्ड फिनाले’ गर्ने गरी मिस्टर एण्ड मिस मनास्लु, मनास्लु आइडल तथा मनास्लु डान्सिङ स्टारको अडिसन सम्पन्न गरेको हो।

गत माघ १२ गते शुक्रवार मनास्लुमा सम्पन्न मिस्टर एण्ड मिस मनास्लु २०८० को अडिसनमा कुल ५७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरू मध्ये बाट निर्णायकहरुले मिस्टर मनास्लुका लागि उत्कृस्ट ९ प्रतियोगी र मिस मनास्लुका लागि उत्कृस्ट ९ प्रतियोगी छानेका छन्। प्रतिस्पर्धीहरूको मुल्यांकन गर्ने जिम्मा कलेजले इभेन्ट डाइरेक्टर सोनित राज ढुंगेल, मिडियाकर्मी अरुणा श्रेष्ठ र कोरियोग्राफर परितोशिका पन्तलाई दिएको थियो। निर्णायकहरुले छानेका ९/९ जनाले आगामी फागुन ६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भव्य ‘ग्राण्ड फिनाले’ मा अन्तिम प्रतिस्पर्धा गर्नेछन्। हाल छनोट भएका प्रतियोगीहरु विभिन्न विधाको तालिममा सहभागी भइरहेका छन्। कलेजले विजयी हुने विद्यार्थीहरूलाई आकर्षक पुरस्कारहरूको व्यवस्था गरेको छ।

मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार मिस्टर एण्ड मिस मनास्लु २०८० को विजेता, फस्ट रनर अप र सेकेन्ड रनर अपले ट्रफी, मेडल र प्रमाणपत्रका अतिरिक्त म्युजिक भिडियो र टिभिसिमा अभिनय गर्ने अवसर, निःशुल्क एयर होस्टेज तालिम लिने अवसर, कलेजको ब्राण्ड एम्बेस्डर बन्ने अवसर र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट १२ मा पर्न सफल सबैले प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी मनास्लुले गत माघ १४ गते सम्पन्न गरेको मनास्लु आइडल सिजन १ को अडिसनमा पनि विद्यार्थीहरूको उत्तिकै उल्लेखनीय सहभागिता रहेको थियो। कुल ४५ जना विद्यार्थी सहभागी रहेको उक्त अडिसन बाट निर्णायकहरू चर्चित गायिका कुन्ती मोक्तान तथा गायक सपन श्रेष्ठले उत्कृष्ट १२ प्रतिस्पर्धी छानेका छन्। अब यी १२ जनाले सेमिफाइनल राउण्डको प्रतिस्पर्धामा सहभागी हुनुपर्नेछ। आगामी माघ २६ गते सेमिफाइनल सञ्चालन गरेर उत्कृष्ट पाँच प्रतियोगी छान्ने र ती प्रतियोगीहरू बिच फागुन ६ गतेकै कार्यक्रममा अन्तिम प्रतिस्पर्धा गराएर विजेता छनोट गर्ने तयारी आयोजकको छ।

आइडलको विजेताहरूलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको कलेजले जनाएको छ। मनास्लु आइडल बन्न सफल हुने प्रतिस्पर्धीले ट्रफी, मेडल र प्रमाणपत्र सहित कलेजको खर्चमा एउटा गीत रेकर्ड गराउने अवसर प्राप्त गर्नेछन्। त्यस्तै १ वर्षको निःशुल्क म्युजिक कक्षा पनि लिन पाउने आयोजकको भनाई छ। आइडलमा उत्कृष्ट १२ भित्र पर्न सफल हुने प्रतियोगीहरूले समेत प्रमाणपत्र प्राप्त गर्नेछन्।

नृत्य पारखीहरूलाई प्रोत्साहन गर्न यो वर्ष देखि नै सुरु गरिएको मनास्लु डान्सिङ स्टारमा कुल ५२ जना प्रतिस्पर्धी रहेका थिए। यो विधामा निर्णायकका रूपमा रहेका वरिष्ठ नृत्य निर्देशक महेश गोदार र कोरियोग्राफर तथा कलाकार गजित विष्टले उत्कृष्ट १२ प्रतिस्पर्धी छानेका छन्। अब यी १२ जनाले अब आफुलाई अब्बल साबित गर्नका लागि सेमिफाइनल चरणको प्रतिस्पर्धा गर्नेछन्। आगामी माघ २६ गते सेमिफाइनल राउण्ड सञ्चालन गरेर उत्कृष्ट पाँच प्रतियोगी छान्ने र ती प्रतियोगीहरू बिच फागुन ६ गतेकै कार्यक्रममा अन्तिम प्रतिस्पर्धा गराएर विजेता छनोट गर्ने आयोजकले बताएको छ।

मनास्लु डान्सिङ स्टार हुने प्रतियोगीले ट्रफी, मेडल र प्रमाणपत्र सहित म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै १ वर्षको निःशुल्क नृत्य कक्षा पनि लिन पाउने छन् । डान्सिङ स्टारको उत्कृष्ट १२ भित्र पर्न सफल हुने प्रतियोगीहरूले समेत प्रमाणपत्र प्राप्त गर्नेछन्।

तिन वटै प्रतिगोगीताहरु बारे मात्र एजुकेसनलाई जानकारी दिँदै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीहरूमा अन्तर्निहित रहेको प्रतिभालाई विकास गराउने र त्यसमै भविष्य खोज्न उनीहरूलाई सघाउने उद्देश्य सहित यी प्रतियोगिताहरू आयोजना गरिएको बताए। उनले मनास्लुको स्थापना नै भोलिका नेतृत्वकर्ताहरू उत्पादन गर्ने उद्देश्य सहित भएको भन्दै आजका विद्यार्थीलाई हरेक क्षेत्रमा सक्षम बनाउनुपर्छ भन्ने अभियान कलेजको रहेको भनाई राखे। तिन वटै प्रतियोगिता प्रति विद्यार्थीले देखाएको अभूतपूर्व आकर्षणले भोलिका दिनमा यस किसिमका कार्यक्रमहरू अझै धेरै गर्नुपर्छ भन्ने निष्कर्षमा कलेज पुगेको उनको भनाई थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड