काठमाडौँ- पनौती-७ काभ्रे स्थित मिराकल मन्टेश्वरी स्कुलको १२ औँ अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले आफ्नो स्थापना दिवस मनाउनुका साथै कक्षा युकेजी उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो।
मिराकल मन्टेश्वरी स्कुलकी प्रधानाध्यापक सुमित्रा केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहरा प्रमुख अतिथिका रूपमा रहेका थिए। विद्यालयकी संस्थापक तथा व्यवस्थापन समिति अध्यक्ष सुनिता ताम्राकार विशेष अतिथि रहेको कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्ना अभिभावकहरूको मन जित्न विद्यालय सफल भएको थियो। स- साना बालबालिकाहरूले देखाएको गायन, नृत्य, वक्तृत्व, वाद्यवादन आदि कला कुनै स्थापित कलाकारको जस्तो देखिन्थ्यो । बालबालिकाको अङ्ग्रेजी भाषाको स्तर र समसामयिक विषयको चेतना लोभलाग्दो थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले पनौती ऐतिहासिक सहर भएको र त्यसको गरिमा जोगाउने गरी विद्यार्थीहरू विभिन्न भेसभुसामा मञ्चमा प्रस्तुत भएको देख्दा खुसी लागेको बताए। पछिल्लो पुस्ता त्यसमा पनि मन्टेश्वरी पढ्ने बालबालिकाहरूमा आफ्नो संस्कृति प्रतिको चेतना र लगाव देखेर आफू प्रभावित भएको उनको भनाई थियो। बालबालिकाको सर्वपक्षीय विकासका लागि मन्टेश्वरीले काम गरिरहेको आफूले पाएको उल्लेख गरेका उनले प्रि-स्कुल बुझेको योग्य व्यक्तिले प्रधानाध्यापक बनेर नेतृत्व गरिरहेको हुँदा विद्यालय सफल भएको जिकिर गरे।