Matra Education सोमबार, साउन ११ २०८३

माफको अध्यक्षमा रविन दाहाल सर्वसम्मत निर्वाचित

माफको अध्यक्षमा रविन दाहाल सर्वसम्मत निर्वाचित

  • मात्र एजुकेशन
  • सोमबार, साउन ११ २०८३


काठमाडौं- म्युचुअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) को अध्यक्षमा इलिक्सर एकेडेमीका प्रिन्सिपल रविन दाहाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा २०८३ साल श्रावण १० गते सम्पन्न माफको अधिवेशनले आगामी दुई वर्षका लागि दाहालको अध्यक्षतामा नयाँ कार्यकारी समिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा व्हिज किड्स इन्टरनेसनल स्कुलका राजेश खरेल, सचिवमा प्रस्फुटन इन्टरनेसनल एकेडेमीका जि. एन. पाण्डे, सहसचिवमा नेपाल मेगा स्कुलका मदनकुमार पोखरेल तथा कोषाध्यक्षमा लाइसियम मोडेल स्कुलका राजेन्द्र थपलिया निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरूमा न्यु अरुणोदय सेकेन्डरी स्कुलकी जेसिका चेम्जोङ र गोल्डेन पिक हाइ स्कुलका छत्रमणी राई चयन भएका छन् भने अतिरिक्त क्रियाकलाप संयोजकमा शाम्भवी स्कुलका रेगन सिंह निर्वाचित भएका छन्।

अधिवेशन उद्घाटन तथा बन्द सत्र गरी दुई चरणमा सञ्चालन गरिएको थियो। उद्घाटन सत्रमा माफ आबद्ध विद्यालयका प्रिन्सिपल तथा निर्देशकहरूले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा माफलाई अझ समृद्ध बनाउने तथा सदस्य विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि संस्थाले खेल्नुपर्ने भूमिकाबारे छलफल गरेका थिए।

कार्यक्रमको समापन गर्दै माफका निवर्तमान अध्यक्ष इशु गुरुङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने कार्यसमिति पदाधिकारी, सदस्य तथा सम्पूर्ण माफ परिवारप्रति आभार व्यक्त गरेकी थिइन्।

बन्द सत्रमा सचिव राजेश खरेलले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष राजेन्द्र थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। आगामी दुई वर्षका लागि कार्यसमिति चयन गर्न वरिष्ठ सल्लाहकार राजु राईको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो। निर्वाचन मण्डलले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै निर्वाचन प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

कार्यक्रमको अन्त्यमा निर्वाचन मण्डलका संयोजक राजु राईले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। नवनिर्वाचित अध्यक्ष रविन दाहालले आफूलाई विश्वास गरी नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण माफ सदस्यप्रति धन्यवाद ज्ञापन गर्दै इमानदारीपूर्वक संस्थाको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड