काठमाडौँ- एकै दिन भौतिक उपस्थितिमा सबैभन्दा बढी विद्यार्थीहरूलाई दीक्षित गरेको विश्वकिर्तिमान बनाउँदै त्रिभुवन विश्वविद्यालयले ४९ औँ दिक्षान्त समारोह सम्पन्न गरेको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औँ दिक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं विश्व विद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरू दीक्षित भएका हुन् ।
त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार ७४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४१५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार १०४, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ ११२ विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षित हुने विद्यार्थी र उनीहरूका अभिभावक गरी करिब २६ हजार जनाको भौतिक उपस्थितिमा दीक्षान्त समारोह गरेको त्रिविले सोही कारण विश्व कीर्तिमानमा नाम पनि लेखाएको हो ।
त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई निम्त्याएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे ।
त्रिवि उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो । गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात् अर्को प्रमाणपत्र दिने उनको भनाइ छ ।
‘ओडब्लूआरले अन द स्पट प्रमाणपत्र दियो । यसले भेरिफाइ गरेर पठाएपछि अर्को स्टेपमा गिनिज बुकले नै दिन्छ,’ भुसालले भने । भुसालले वि.सं. २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको पनि जानकारी दिए ।
गत वर्ष १० हजार ३०० विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारी सहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।