Matra Education बुधबार, कार्तिक ११ २०८३

भव्य कार्यक्रम गर्दै नवदीक्षित पाठशालाको अभिभावक दिवस सम्पन्न

भव्य कार्यक्रम गर्दै नवदीक्षित पाठशालाको अभिभावक दिवस सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, फाल्गुन ८ २०८१


काठमाडौँ- टोखा स्थित नवदीक्षित पाठशालाले अभिभावक दिवस सम्पन्न गरेको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बुधवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो। एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।

नवदीक्षित पाठशालाका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमनाथ पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। उक्त नगरपालिकाका उप-प्रमुख मुरारी तामाङ विशिष्ट अतिथिका रूपमा रहेको कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका व्यवस्थापक समिति अध्यक्ष रेणुका कोइराला, कोअर्डिनेटर नविन बस्याल सहित शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै नवदीक्षित पाठशालाकी इन्चार्ज आरती गुरुङले विद्यालयले वर्ष भरी सिकाएको विविध गतिविधिहरू अभिभावकलाई देखाउने अवसरका रूपमा कार्यक्रम राखिएको बताइन्। उनले विद्यालय भित्र शिक्षा सँगै विभिन्न किसिमका प्रतिभाहरू पनि प्रस्फुटित गराउने काम हुँदै आएको भन्दै आफ्ना विद्यार्थीहरूको सर्वपक्षीय विकास नै नवादिक्षितको लक्ष्य भएको बताइन्।

विद्यालय गान सार्वजनिक गर्दै, उत्कृष्ट स्वागत नृत्य तथा स्वागत गीत बाट सुरु भएको कार्यक्रममा वर्षभर सञ्चालित खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गर्नेहरूलाई पुरस्कृत गरिएको थियो। अनौपचारिक सत्रमा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतका विविध प्रस्तुतिहरू मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन गराएका थिए। विभिन्न धर्म, संस्कृति, भेसभुसा आदिको प्रतिनिधित्व गर्दै मञ्चमा उक्लिएका बालबालिकाहरूको समसामयिक विषयको चेत र उनीहरूका प्रस्तुतिले दिएको सन्देश अर्थपूर्ण देखिन्थ्यो। दर्शक बनेर आफ्ना छोराछोरीको प्रस्तुति हेरीरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे।

कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका कानुनी सल्लाहकार दुर्गा अर्यालले सानै देखि बालबालिकालाई आवश्यक शिक्षा दिनमा विद्यालय सफल भएको धारणा राखे। उनले कार्यक्रममा बसेर अवलोकन गर्दै गर्दा आफूले उक्त अनुभूति गरेको बताए। पछिल्लो पुस्तामा बढ्दै गएको विदेश मोह प्रति चिन्ता व्यक्त गरेका उनले अब विद्यालयहरूमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए। अभिभावकहरूलाई मोबाइलको लतबाट बालबालिकालाई टाढै राख्न उनले सुझाव दिए।

विद्यालयलाई शुभकामना दिन मञ्चमा उक्लिएका विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख तामाङले छोटो समयमा गरेको प्रगतिका लागि विद्यालय परिवारलाई बधाई दिए। विद्यालयको अझै बढी प्रगतिको कामना गरेका उनले त्यसका लागि नगरका तर्फबाट गर्नुपर्ने सबै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए। अबको शिक्षा व्यक्तिमा रहेको प्रतिभा पहिचान गरेर त्यसलाई विकास गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेका उनले अभिभावकलाई पढ्नु लेख्नु मात्रै सिकाई हो भनेर नबुझ्न आग्रह गरे।

कार्यक्रमकी प्रमुख अतिथि श्रेष्ठले आमन्त्रणका लागि धन्यवाद दिँदै विद्यालयले उत्कृष्ट रूपमा आफूलाई प्रस्तुत गरेको उल्लेख गरिन् । प्रजातन्त्र दिवसको पावन अवसरका कार्यक्रम राखिएको भन्दै उनले अरूको स्वतन्त्रताका लागि ज्यान गुनाउने सबै प्रति सम्मान व्यक्त गर्नुपर्ने र त्यसका लागि अधिकार सँगै आफ्नो कर्तव्य हरेक नागरिकले पालना गर्नुपर्ने बताइन्। आफ्नो बाल्यकाल र शिक्षाको अनुभव सुनाएकी उनले पढ्नका लागि अमेरिका गएको र परिवारको इच्छा विपरीत अध्ययन सकेर नेपाल फर्किएको घटना रोचक तरिकाले सुनाइन्। जुन सुकै परिस्थितिमा लडेर पनि नेपालमै केही गर्ने आफ्नो त्यही दिनको संकल्पका कारण गम्भीर स्वास्थ्य समस्या भएका बाबुआमा दुवैलाई समयमा उपचार गरेर बचाउन सकेको र आफ्ना लागि त्यही उपलब्धि भएको बताइन्। टिच फर नेपालको स्थापनाको उद्देश्य र हालसम्म गर्दै आएका कामहरूको चर्चा गरेकी उनले नेपालको शिक्षाका लागि योगदान गर्ने चाहना आफूहरूको रहेको बताइन्। श्रेष्ठले सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरिन्।

कार्यक्रममा बोलेका अन्य वक्ताहरूले विद्यालयले शिक्षण सँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको हुँदा नवादिक्षित उत्कृष्ट पाएको धारणा राखे। उनीहरूले उत्कृष्ट प्रस्तुतिका लागि विद्यार्थीहरूलाई धन्यवाद दिँदै थप प्रगतिको कामना गरे।

कार्यक्रम समापन गर्दै सभापति पौडेलले उपस्थित अतिथिलाई धन्यवाद दिए । उनले सबैको साथ, सहयोगका कारण विद्यालय आफ्नो क्षेत्रमा स्थापित हुन सफल भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा विद्यालयले कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निरन्तरको साथका लागि अभिभावकहरू प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेको बताए।

यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरु हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड