Matra Education आइतबार, साउन १० २०८३

भव्य कार्यक्रमका बिच मिस्टर एन्ड मिस साउथ वेस्टर्नको ग्राण्ड फिनाले सम्पन्न

भव्य कार्यक्रमका बिच मिस्टर एन्ड मिस साउथ वेस्टर्नको ग्राण्ड फिनाले सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र २९ २०८०


काठमाडौँ- साउथ वेस्टर्न स्कुलद्वारा आयोजित मिस्टर एन्ड मिस साउथ वेस्टर्नको ग्राण्ड फिनाले सम्पन्न भएको छ । शुक्रवार राष्ट्रिय बाल दिवसको अवसर पारेर वसुन्धराको यती इभेन्ट्समा आयोजित ग्राण्ड फिनाले मार्फत विद्यालयले मिस्टर एन्ड मिस साउथ वेस्टर्न छनोट गरेको हो । प्रतियोगितामा उल्लेख्य सङ्ख्यामा सहभागी विद्यार्थीहरू मध्यबाट विभिन्न ६ चरण पार गरेका अन्तिम २३ सहभागीले प्रतिस्पर्धा गरेका थिए ।

साउथ वेस्टर्न स्कुल सञ्चालक समितिका अध्यक्ष टिकाराम महराको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा टेलिभिजनकर्मी हेमन्त गौतम र गायक सन्तोष सुनारले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश अधिकारी, सहप्रधानाध्यापक कुमार केसी, विभिन्न तहका इन्चार्जहरू सहित शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै साउथ वेस्टर्न स्कुलका इसिए इन्चार्ज धिरज शर्माले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गरिएको बताए। जित हार एउटा प्रक्रिया मात्रै हुने भन्दै उनले ६ वटा तह पार गरेर यहाँ सम्म आइपुग्नु नै विद्यार्थीको विजय भएको बताए। उनले सिंहले जस्तै हिम्मत लिएर मञ्चमा चढ्न र आफूमा भएको क्षमता प्रस्तुत गर्न विद्यार्थीलाई सुझाव दिए। शिक्षक शिक्षिका र विद्यालयका लागि सबै विद्यार्थी विजयी भइसकेको भन्दै उनले सबै प्रतिस्पर्धीलाई औपचारिक विजयको शुभकामना दिए।

कार्यक्रमको मुख्य आकर्षण बनेको प्रतिस्पर्धा साँच्चै रोचक बनेको थियो। अन्तिम चरणको प्रतिस्पर्धा र उपाधि सँगको छोटो दुरीका कारण प्रतिस्पर्धीहरू आफूलाई अब्बल देखाउन प्रयासरत देखिन्थे। सँगै उनीहरूको मेहनत र मार्गनिर्देशन गर्ने शिक्षक/शिक्षिकाको सिर्जनात्मकता मञ्चमा प्रस्ट झल्किएको थियो। विभिन्न जात जातिहरूको मौलिक पोसाक र भेसभुसामा सजिएका प्रतिस्पर्धीहरूले उपस्थित दर्शकलाई आफूले लगाएको पहिरन र त्यसको संस्कृतिबारे जानकारी गराएको दृश्य मनमोहक देखिन्थ्यो। साथै लोपोन्मुख संस्कृतिको प्रतिनिधित्व पनि विद्यार्थीहरूले गरेका थिए।

ग्राण्ड फिनालेमा पनि विभिन्न चरणमा प्रतिस्पर्धा गरेका प्रतिस्पर्धीहरूले प्रश्नोत्तर राउन्डलाई अझै विशेष बनाएका थिए। प्राथमिक देखि माध्यमिक तह पढ्ने आफ्ना छोराछोरीहरूले निर्णायकको प्रश्नमा मञ्चबाट दिएको सिर्जनात्मक उत्तर सुनेर विद्यालयका अभिभावकहरू प्रफुल्लित देखिन्थे।

कार्यक्रमलाई सम्बोधन गर्दै साउथ वेस्टर्न स्कुलका प्रधानाध्यापक रमेश अधिकारीले पि.जि देखि पि.एच.डी सम्म पढाइ हुने थोरै शैक्षिक संस्था भित्र विद्यालय पर्ने उल्लेख गरे। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र आत्मविश्वास विकासका लागि विद्यालयले शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँग सँगै लगेको उनको भनाई थियो। प्रतिस्पर्धा गरेपछि नतिजा जे जस्तो आए पनि स्विकार्नुपर्ने भन्दै उनले आफूमा रहेको डर जितेर मञ्च सम्म पुग्दै आफूलाई अब्बल साबित गर्ने सबै विद्यार्थी आफ्ना लागि विजेता भएको बताए। हार जित र उतारचढावहरू मानव जीवनको अभिन्न अंग भएको बताएका अधिकारीले जीवन खेत रोपाइँ जस्तै भएको उल्लेख गरे। खेत रोपाइँमा पछाडि हट्दै जाँदा काम सकिएजस्तै कहिलेकाहीँ जीवन पछाडि परेजस्तो लागे पनि सफलता त्यसमा लुकेको हुने उनको भनाई थियो।

ग्राण्ड फिनालेको अन्त्य सँगै आजै नतिजा घोषणा गरी विद्यालयले विजयी विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरेको थियो। यो पटक प्रतिस्पर्धी विद्यार्थीलाई तह अनुसार तिन समूहमा विभाजन गरी समूह अनुसारको विजेता छनोट गरिएको थियो। घोषित नतिजा अनुसार जुनियर मिस साउथ वेस्टर्न इमेल्डा श्रेष्ठ बन्न सफल भइन् भने निहारिका तिवारी, डोरिस ढुङ्गाना र सुनिस्था थापाले क्रमशः द्वितीय, तृतीय र चौथो स्थान हासिल गरे। सोही तहको मिस्टर साउथ वेस्टर्नको उपाधि जेनस ढकालले प्राप्त गर्दा ध्रुव श्रेष्ठ, रियाज उप्रेती र तियायु पाण्डेले क्रमशः द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गरे।

त्यसैगरी मिडल स्कुल मिस्टर साउथ वेस्टर्नको उपाधि दिप्सन भट्टराईले प्राप्त गर्दा सम्बिद केसी, सार्थक केसी र एभिन धितालले क्रमशः द्वितीय, तृतीय र चौथो उपाधि आफ्नो नाममा गरे। सोही तहमा मिस साउथ वेस्टर्न पूर्णिमा खनाल बनिन् भने आर्या आचार्य, आयुषा मैनाली र साहिबा जोय ढकाल क्रमशः द्वितीय, तृतीय र चौथो हुन सफल रहे।

दिव्या भट्टराईले सिनियर स्कुल मिस साउथ वेस्टर्नको उपाधि चुम्दा आर्चिज रेग्मी, नेहा लिम्बु र रियान्शु भट्टराई क्रमशः द्वितीय, तृतीय र चौथो भए भने सोही तहमा स्वीकार देवकोटा मिस्टर साउथ वेस्टर्न हुन सफल हुँदा रायन लकाण्ड्रिले दोस्रो र रिजन माझिले तेस्रो स्थान आफ्नो नाममा गरे। कार्यक्रममा प्रथम हुने तिन हजार, द्वितीय हुनेले दुई हजार र तृतीय हुनेले एक हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रम समापन गर्दै सभाध्यक्ष महराले कार्यक्रमलाई भव्य र सभ्य बनाउन लागिपर्ने सम्पूर्णलाई विद्यालयको तर्फबाट धन्यवाद दिए। कार्यक्रममा केही कमी कमजोरी रहेको हुनसक्ने भन्दै उनले हरेक वर्ष यो भन्दा भव्य रूपमा कार्यक्रम गर्ने विद्यालयको योजना रहेको बताए। गन्तव्यमा पुग्न अथक रूपमा निरन्तर लागिरहे मात्रै सम्भव हुने भन्दै उनले विजयी विद्यार्थीलाई बधाई र सहभागीलाई शुभकामना सहित कार्यक्रम अन्त्य गरे।

साउथ वेस्टर्न स्कुल आइ.एस.ओ ९००१: २०१५ क्युएमएस प्रमाणित स्कुल हो।

तपाईँ यहाँ क्लिक गरेर मात्र एजुकेसनले खिचेको ग्राण्ड फिनालेको केही तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड