Matra Education बुधबार, भाद्र ३ २०८३

‘ब्लु बर्ड सुपर लिग’को उद्घाटन, चार खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने

‘ब्लु बर्ड सुपर लिग’को उद्घाटन, चार खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, साउन २४ २०८३


ललितपुर- ललितपुरको ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा ‘ब्लु बर्ड सुपर लिग’को उद्घाटन गरिएको छ। पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन्।

एभिएस विद्यालयका प्रिन्सिपल दीपकराज जोशीका अनुसार प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चार खेल समावेश गरिएको छ। ललितपुर जिल्लाभरिका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले निर्धारित फाराम भर्नुपर्नेछ। विद्यार्थीमा रहेको खेल प्रतिभा पहिचान गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जोशीले बताए।

प्रतियोगिताका लागि खेलाडी छनोटको जिम्मेवारी सम्बन्धित खेलका क्याप्टेनलाई दिइएको छ। प्रत्येक खेलका क्याप्टेनले आफ्नो टोलीका खेलाडी छनोट गर्नेछन्।

प्रतियोगिता आयोजक समितिका संयोजक जितेन्द्र श्रेष्ठका अनुसार छनोट भएका खेलाडीको जर्सीमा उल्लेख गरिने नाम तथा विवरणसमेत क्याप्टेनले आयोजकलाई उपलब्ध गराउनुपर्नेछ।

प्रतियोगिताको प्राविधिक तयारी एक साताभित्र पूरा गरी आगामी शुक्रबारदेखि खेल सञ्चालन गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको ग्रान्ड फाइनल भने आगामी मंसिर महिनामा आयोजना गरिने उनले बताए।

उद्घाटन समारोहमा विभिन्न खेलका क्याप्टेनहरूको नामसमेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा ब्लु बर्ड कलेजका प्रिन्सिपल बीएस क्षेत्रीले विद्यार्थीको रुचि, क्षमता र समयको मागअनुसार कलेजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कलेजले सुरु गरेका कतिपय कार्यक्रमलाई अन्य शैक्षिक संस्थाले समेत अनुकरण गर्दै आएको उल्लेख गर्दै उनले त्यसप्रति आफूहरू गौरवान्वित रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले युवा देशको शक्ति भएको बताए। युवाको पहिचान र सफलतासँग देशको पहिचानसमेत जोडिने उल्लेख गर्दै उनले विश्वका चर्चित खेलाडीहरूको उदाहरण प्रस्तुत गरे।

खेलकुदले युवाको क्षमता, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने पोखरेलको भनाइ थियो।

‘ब्लु बर्ड सुपर लिग’मार्फत विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै ललितपुर क्षेत्रका प्रतिभाशाली खेलाडी पहिचान र विकासमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड