काठमाडौँ- उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो सम्पत्ति राष्ट्रको नाममा सुम्पिएर मात्रै निजी विद्यालयलाई गुठीमा लाने कुरा गर्न सुझाव दिएका छन्। मंगलबार राजधानीमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर एजुकेसन समिट–२०८०’ को ‘उच्च शिक्षा कानुन गर्भमा, विद्यालय शिक्षा विधेयक विवादमा’ शीर्षकको सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। सिलवालले भने ‘बाहिर भूमिका र योगदानको उच्च प्रशंसा गर्ने अनि पाँच वर्षपछि तेरो सम्पत्ति राष्ट्रलाई बुझा भन्ने ? मेरो प्रतिप्रश्न र चुनौती नै छ प्रधानमन्त्रीसँग, त्यति त्यागी हुनुहुन्छ भने उहाँहरूले आफ्नो सम्पत्ति राष्ट्रको नाममा सुम्पिदिने हिम्मत राख्नुस्, हामी निजी क्षेत्रको सबै स्कुल राज्यलाई सुम्पिन तयार छौँ ।’
प्रस्तावित विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रबाट सञ्चालित विद्यालय पाँच वर्षभित्र शैक्षिक गुठीमा जानुपर्ने व्यवस्था गरेपछि निजी क्षेत्र यस अघि देखि नै आक्रोशित रहँदै आएको थियो। हाल प्रतिनिधिसभाको शिक्षा समितिमा छलफलका क्रममा रहेको उक्त विधेयकमा निजी विद्यालय पाँच वर्षपछि गुठीमा जानुपर्ने व्यवस्था राख्नका लागि सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
सिलवालले सरकार र सांसदहरू संविधानले तय गरेको व्यवस्था भन्दा माथि जान खोजेको भन्दै आपत्ति समेत जनाए। ‘संविधान विपरीत ऐन ल्याउने अधिकार कसैलाई छैन । नेपालको तीनखम्बे अर्थनीतिमा सहकारी, निजी र सरकारी हुने व्यवस्था छ । गुठी अर्थतन्त्र नेपालमा छैन,’ उनले भने, ‘नेपालको संविधानले कुनैमा प्रगतिशील कर लगाउन मिल्नेछ भन्ने व्यवस्था गरेको छ । सरकार र सांसदलाई संविधानभन्दा माथि बस्ने अधिकार छैन । कम्पनीअन्तर्गत दर्ता भएको संघले सोहीअनुसार चल्न पाउनुपर्छ ।’ सिलवालले भने।